जहाँ अहंकार समाप्त हुन्छ,त्यहीँबाट कृष्ण सुरु हुन्छन्
ओशो एक भारतीय आध्यात्मिक गुरु,दार्शनिक र ध्यान-शिक्षक हुन् जसले परम्परागत धर्म, समाज र मान्यतामाथि प्रश्न उठाउँदै ध्यान र आत्म-चेतनाको माध्यमबाट मानव स्वतन्त्रता र जागरणको विचार प्रस्तुत गरे। उनले विभिन्न धर्म र आध्यात्मिक परम्पराका प्रमुख व्यक्तित्वहरूबारे गहिरो रूपमा बोलेका छन्।
उनले हिन्दू धर्मका कृष्ण, राम र भगवद्गीता, बौद्ध धर्मका गौतम बुद्ध, जैन धर्मका महावीर, इसाई धर्मका येशू ख्रीष्ट, इस्लामका मोहम्मद, ताओ धर्मका लाओत्से तथा सूफी परम्पराका रूमी र कबीर जस्ता व्यक्तित्वहरूको चर्चा गरेका छन्।
उनका अनुसार यी सबै परम्पराहरूको मूल उद्देश्य ‘मानव चेतनाको रूपान्तरण र आत्मबोध’ रहेको बताएका छन्। उनले कुनै एक धर्मलाई मात्र अन्तिम सत्य मान्दैनथे, बरु सबैलाई चेतनाको फरक-फरक मार्गका रूपमा व्याख्या गर्थे।
त्यसमध्ये उनले कृष्णका बारेमा दिएको प्रवचनको केहि अंश:
कृष्ण कुनै साधक होइनन्। उनलाई साधक भनेर सम्बोधन गर्नु गलत हुनेछ। उनी एक सिद्ध हुन् जीवनको कलाका पारंगत र निपुण कलाकार। र उनले यस सिद्धावस्थामा मनको चरम अवस्थामा जे भन्छन् त्यो तिमीलाई अहंकारपूर्ण लाग्न सक्छ तर वास्तवमा त्यस्तो होइन। कठिनाइ के हो भने कृष्णले पनि त्यही भाषिक ‘म’ को प्रयोग गर्नुपर्छ जसको प्रयोग तिमी गर्छौ। तर उनको ‘म’ र तिम्रो ‘म’ को प्रयोगमा धेरै फरक छ। जब तिमी ‘म’ भन्छौ त्यसको अर्थ हुन्छ शरीरभित्र कैद भएको अस्तित्व तर जब कृष्ण ‘म’ भन्छन् त्यसको अर्थ हुन्छ पूरै ब्रह्माण्डमा व्यापक चेतना। त्यसैले उनीमा यो भन्न सक्ने साहस छ ‘सबै छोडेर मेरो शरणमा आ।’ यदि यो तिम्रो ‘म’ हुन्थ्यो शरीरको कैदी भने यस्तो भन्न सम्भव हुने थिएन। र यदि कृष्णको ‘म’ पनि तिम्रो जस्तै सानो हुन्थ्यो भने त्यसले अर्जुनलाई कष्ट दिन्थ्यो। अर्जुन तुरुन्तै प्रतिवाद गर्थे ‘तपाईं के भन्नुहुन्छ म किन तपाईंको अगाडि समर्पण गरूँ’ अर्जुनलाई धेरै पीडा हुन्थ्यो तर त्यस्तो भएन।
जब कुनै व्यक्ति कसैसँग अहंकारको भाषामा बोल्छ तब अर्कोको भित्र पनि तुरुन्तै अहंकारको प्रतिक्रिया उत्पन्न हुन्छ। जब तिमी अहंकारयुक्त ‘म’ को भाषामा बोल्छौ अर्कोले पनि त्यही भाषा तुरुन्तै अपनाउँछ। हामी एकअर्काका शब्दहरूको पछाडि लुकेको अर्थ बुझ्न सक्षम हुन्छौं र छिट्टै प्रतिक्रिया दिन्छौं।
तर कृष्णको ‘म’ अहंकारका सबै चिन्हहरूबाट मुक्त छ त्यसैले उनी अर्जुनलाई निर्दोष समर्पणका लागि बोलाउन सके। यहाँ ‘मेरो प्रति समर्पण’ भन्नुको वास्तविक अर्थ हो ‘पूर्ण प्रति समर्पण’ त्यो मौलिक र रहस्यमय ऊर्जा जसले ब्रह्माण्ड भरि व्याप्त छ।
निरअहंकार बुद्ध र महावीरमा पनि आएको छ तर उनीहरूमा त्यो धेरै लामो संघर्ष र परिश्रमपछि आएको हो। तर सम्भव छ कि उनका धेरै अनुयायीहरूमा त्यो नआओस् किनकि त्यो उनीहरूको मार्गको अन्तिम उपलब्धि हो। त्यसैले अनुयायी त्यहाँ पुग्न सक्छन् वा नपुग्न पनि सक्छन्। तर कृष्णका साथ निरअहंकार सुरुमै आउँछ। उनी त्यहाँबाट सुरु हुन्छन् जहाँ बुद्ध र महावीर समाप्त हुन्छन्। त्यसैले जो कोही कृष्णसँग जान चाहन्छ उसले यो कुरा सुरुदेखि नै आत्मसात गर्नुपर्छ। यदि ऊ असफल हुन्छ भने कृष्णसँग जाने कुनै प्रश्न नै उठ्दैन।
महावीरको सान्निध्यमा तिमी आफ्नो ‘अहम्’ समातेका समातेकै धेरै टाढासम्म जान सक्छौ तर कृष्णसँग तिमीले आफ्नो ‘अहम्’ पहिलो चरणमै त्याग्नुपर्छ नत्र तिमी उनीसँग जान सक्दैनौ। तिम्रो अहम् महावीरसँग केही हदसम्म स्थान पाउन सक्छ तर कृष्णसँग होइन। कृष्णसँग पहिलो चरण नै अन्तिम हो महावीर र बुद्धसँग अन्तिम चरण नै पहिलो हो। यो अन्तर बुझ्नु तिम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ किनकि यो धेरै गहिरो र आधारभूत फरक हो।
कृष्णलाई बुझ्नु अत्यन्त कठिन छ। यो बुझ्न सजिलो छ कि कुनै व्यक्ति शान्तिको खोजीमा संसारबाट टाढा जान्छ तर यो स्वीकार गर्न गाह्रो छ कि कोही भरिएको बजारमै शान्ति पाउन सक्छ। यो बुझ्न सजिलो छ कि व्यक्ति आफ्ना आसक्तिहरूबाट मुक्त भयो भने मनको शुद्ध अवस्था प्राप्त गर्न सक्छ तर यो स्वीकार गर्न गाह्रो छ कि सम्बन्ध र आसक्तिहरूको बीचमै रहेर पनि कोही अनासक्त र निर्दोष रहन सक्छ कोही आँधीबेहरीको बीचमै शान्त रहन सक्छ।
यो मान्न गाह्रो छैन कि यदि दीपकको ज्वाला तेज हावाबाट टाढा एकान्तमा छ भने त्यो स्थिर रहनेछ तर यो कसरी विश्वास गर्ने कि एउटा बत्ती तेज आँधीबेहरीको बीचमा पनि जलिरहन सक्छ। त्यसैले कृष्णका निकट भएका मानिसहरूका लागि पनि उनलाई बुझ्न गाह्रो हुन्छ।
तिमी कुनै व्यक्तिको बारेमा बाहिरबाट निर्णय गर्न सक्दैनौ कि ऊ बुद्धिमान् हो कि मूर्ख किनकि धेरैपटक उनीहरूको व्यवहार एउटै जस्तो देखिन सक्छ।
गीतामा कृष्ण अर्जुनलाई भन्छन् ‘लड तर परमात्माप्रति पूर्ण समर्पणका साथ लड माध्यम बन।’ समर्पणको अर्थ हो पूर्ण जागरूकता नत्र समर्पण सम्भव छैन। समर्पण भनेको अहंकारलाई त्याग्नु हो किनकि अहंकार नै अचेतनता हो। कृष्ण भन्छन् ‘अहंकारलाई छोड देऊ र सबै परमात्मामा समर्पण गर त्यसपछि जे हुन्छ त्यो राम्रो हुन्छ।’
अर्जुन बारम्बार तर्क गर्छन्। उनी भन्छन् ‘यी निर्दोष मानिसहरूलाई मार्नु केवल राज्यका लागि यति धेरै हत्या गर्नु यो कसरी ठीक हुन सक्छ म त सबै त्यागेर जंगलमा गएर भिक्षु बन्न रुचाउँछु।’
यदि तिमी बाहिरबाट मात्र हेर्छौ भने अर्जुन कृष्णभन्दा बढी धार्मिक देखिन्छन्। उनी बढी नैतिक देखिन्छन्। कृष्ण भने उल्टो देखिन्छन् खतरनाक जस्ता। उनी भन्छन् ‘यो भाग्ने प्रवृत्ति छोड यो तिम्रो लागि होइन सबै परमात्मामा छोड देऊ तिमी कुनै निर्णय नगर केवल शान्त होऊ र उसलाई तिमीमार्फत काम गर्न देऊ त्यसपछि जे हुन्छ यदि ऊ तिमीलाई भिक्षु बनाउन चाहन्छ भने भिक्षु बनाउनेछ यदि योद्धा बनाउन चाहन्छ भने योद्धा बनाउनेछ।’
अर्जुन बढी नैतिक र निष्ठावान् देखिन्छन् तर कृष्ण एक जागृत चेतना हुन्। उनी भन्छन् ‘तिमी कुनै निर्णय नगर किनकि तिम्रो अचेतनबाट आएको निर्णय गलत हुनेछ अचेतन नै गलत छ’ एक मूर्ख व्यक्ति अचेतनमा बाँच्दछ। यदि उसले राम्रो गर्न खोजे पनि अन्ततः गलत नै हुन्छ।
ओशो इन्टरनेशनलबाट साभार
