‘फेमिना मिस इन्डिया २०२६’ को उपाधि जित्ने को हुन् गोवाकी साध्वी सैल ?
एजेन्सी। भारतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘फेमिना मिस इन्डिया २०२६’को उपाधि गोवाकी साध्वी सैलले जितेकी छन्। ओडिशाको भुवनेश्वरस्थित केआईआईटीमा शनिबार आयोजित ६१औँ संस्करणमा उनले देशभरका ३० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन्।
उनीलाई ‘मिस इन्डिया वर्ल्ड २०२४’ की विजेता निकिता पोरवालले ताज पहिर्याएकी थिइन्। अब साध्वीले अन्तर्राष्ट्रिय स्तरको ‘मिस वर्ल्ड’ प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्।
विजेता घोषणा हुँदा साध्वी भावुक देखिएकी थिइन् भने बलिउड अभिनेत्री नेहा धुपियाले उनलाई मञ्चमा सम्मान गर्दै बधाई दिएकी थिइन्।
प्रतियोगितामा महाराष्ट्रकी राजनन्दिनी फस्ट रनरअप र कश्मीरकी अद्वैता सेकेन्ड रनरअप घोषित भएका छन्। कार्यक्रममा अभिनेता ईशान खट्टरले नृत्य प्रस्तुत गरेका थिए भने गायक जुबिन नौटियालले गीतमार्फत माहोललाई थप उत्साहपूर्ण बनाएका थिए।
गोवाकी साध्वी सतीश सैल को हुन्?
गोवाकी साध्वी सैलको यात्रा निकै राम्रो रह्यो। उनले अर्थशास्त्र (इकोनॉमिक्स) र अन्तर्राष्ट्रिय सम्बन्ध (इन्टरनेशनल रिलेसन्स) मा स्नातक अध्ययन गरेकी छन्। साथै, उनी सात वटा भाषामा पनि रुचि र ज्ञान राख्छिन्। यही प्रतिभाका कारण उनी अन्य प्रतिस्पर्धीहरूभन्दा फरक देखिइन्।
उनलाई पहिले देखि नै मोडलिङमा रुचि थियो, जसका कारण उनले धेरै प्रतियोगिताहरूमा भाग लिएकी थिइन्। अन्ततः उनले ६१औँ फेमिना मिस इन्डिया वर्ल्डको उपाधि जित्न सफल भइन्।
