`

जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएको आरोपमा वडाध्यक्षसहित तीन जना जेल चलान

Nepal One HD २५ वैशाख २०८३ १८:१७
समाचार

काठमाडौं । जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता प्रमाणपत्र बनाएको अभियोगमा नवलपरासी जिल्ला अदालत ले वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

सुस्ता गाउँपालिका-५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै उनको नाममा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको प्रकरणमा अदालतले उक्त आदेश दिएको हो । उनीहरूमाथि ‘झुठा विवरण पेस गरी व्यक्तिगत घटना दर्ता गरे/गराएको’ कसुरमा मुद्दा दायर गरिएको छ ।

अदालतका सूचना अधिकारी तथा शाखा अधिकृत भेषराज खनाल का अनुसार पुर्पक्षका लागि थुनामा पठाइएकामा सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडासचिव सञ्जयकुमार चौधरी र तारिख मिया रहेका छन् । उनीहरूले झुठा विवरणका आधारमा मृत्यु दर्ताको निवेदन दिने, सिफारिस गर्ने तथा प्रमाणपत्र जारी गर्ने कार्यमा संलग्न रहेको आरोप छ ।

उक्त घटनामा संलग्न ११ जनामध्ये इशानेसा मिया र छोटे खाँलाई ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने अन्य ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । धरौटीमा छुटेका तथा फरार व्यक्तिहरू सर्जिमन मुचुल्काका साक्षी रहेको बताइएको छ ।

प्रहरी अनुसन्धानअनुसार पुर्पक्षका लागि थुनामा पठाइएका ३१ वर्षीय तारिख मियाका बाबु जमालुद्दिन अन्सारीको २०६० जेठ ३० गते मृत्यु भएको थियो । बाबुको नामसँग मिल्ने सोही क्षेत्रका जीवित व्यक्ति जमालुद्दिन मुसलमानलाई मृत देखाएर तारिखले वडा कार्यालयमा निवेदन दिएका थिए ।

आफ्नै मृत्यु दर्ता भएको जानकारी पाएपछि जमालुद्दिन मुसलमानले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि घटनाको वास्तविकता बाहिर आएको हो । अनुसन्धानबाट मुसलमान समुदायमा अन्सारी, मिया र मुसलमानलगायत थर प्रयोग गर्ने प्रचलनको फाइदा उठाउँदै तारिखले जीवित व्यक्तिको नागरिकता तथा आफ्नो जन्मदर्ताको प्रतिलिपि प्रयोग गरी २०८२ कात्तिक २३ गते मृत्यु दर्ताका लागि निवेदन दिएको खुलेको छ ।

वडा कार्यालयले सर्जिमनका आधारमा मंसिर महिनामा मृत्यु दर्ता प्रमाणपत्र जारी गरेको थियो । प्रहरीले मृतक बाबुको नागरिकता नभएको र आफ्नै नागरिकता बनाउनका लागि तारिखले यस्तो कार्य गरेको निष्कर्ष निकालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *