`

पाँच वर्षमा २९ जना रक्तदातामा एचआईभी पोजेटिभ फेला

Nepal One HD २६ वैशाख २०८३ १३:२२
जीवनशैली/स्वास्थ्य

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ।

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र भिरिङ्गीजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यो तथ्य बाहिर आएको हो।

रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इञ्चार्ज शिशिर दाहालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ जना, २०७९/८० मा २ जना, २०८०/८१ मा ६ जना, २०८१/८२ मा १४ जना र २०८२/८३ मा ६ जना रक्तदातामा एचआईभी पोजेटिभ देखिएको हो। सबैभन्दा बढी केस २०८१/८२ मा देखिएको उनले बताए।

परीक्षणमा एचआईभी पोजेटिभ देखिएका रगतलाई थप पुष्टि परीक्षण र परामर्शका लागि सम्बन्धित व्यक्तिलाई सिफारिस गर्ने गरिएको रेडक्रसले जनाएको छ।

झापामा रेडक्रसले वार्षिक १७ हजार युनिटभन्दा बढी सुरक्षित रगत विभिन्न अस्पतालमा आपूर्ति गर्दै आएको छ। जिल्लामा करिब ५ हजारभन्दा बढी स्वयम्सेवी रक्तदाता रहेका छन्।

रेडक्रसका अनुसार वर्षायाम र खेतीको सिजनमा रक्तदान कार्यक्रम कम हुने भएकाले रगतको अभाव हुने गरेको छ। क्यान्सर, मिर्गौला रोग, एनिमिया लगायतका बिरामी बढ्दै जाँदा रगतको माग पनि निरन्तर बढिरहेको छ।

रेडक्रसले अनिवार्य परीक्षण प्रणालीले बिरामीलाई सम्भावित संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *