टिप्पर र बस ठोक्किँदा १० जना घाइते
दमक।झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुवाहक बस र ढुंगा–गिटी बोक्ने टिपर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१.ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ गइरहेको प्र–न–२–०३–००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन्।
घाइतेमध्ये योगमाया निरौलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरूको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुई जना घाइतेको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य छ। दुर्घटनापछि प्रहरी चौकी महारानीझोडाले टिपर चालकसहित दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
