पशुपतिनाथमा भेटिएको ग्रिनेट : के हो सत्य तथ्य ?
काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्र अन्तर्गत राम मन्दिरभन्दा माथिको जंगलमा भेटिएको ग्रिनेट बम नेपाली सेनाले निष्क्रिय पार्दै परीक्षणका लागि लगेको छ।
आइतबार बिहान करिब ८ बजे बम जस्तो वस्तु भेटिएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर उक्त वस्तु सुरक्षित रूपमा उठाएको हो।
काठमाडौँ प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनास्थलमा प्लास्टिकजस्तो देखिने ग्रिनेट बम जस्ता तीन वटा वस्तु भेटिएका थिए। ती वस्तु परीक्षणका लागि सेनाले लगेपछि अनुसन्धान अघि बढाइएको छ।
डीएसपी बुढाथोकीका अनुसार भेटिएको बम तत्काल राखिएको जस्तो नभई पुरानो अवस्थामा रहेको देखिन्छ। उनले उक्त वस्तुमा खिया लागेको र करिब ३-४ महिनाअघि जंगल क्षेत्रमा राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए।
उनका अनुसार वस्तु सक्रिय अवस्थामा नभएको जस्तो देखिए पनि विस्तृत परीक्षणपछि मात्रै वास्तविक अवस्था पुष्टि हुने छ।
सामाजिक सञ्जालमा उक्त बम सुकुम्वासी बस्ती नजिक भेटिएको भनेर फैलिएको सूचनालाई प्रहरीले खण्डन गरेको छ। डीएसपी बुढाथोकीका अनुसार बम सुकुम्वासी बस्तीभन्दा धेरै माथि जंगल क्षेत्रमा फेला परेको हो।
उनले भने अनुसार सुकुम्वासी बस्ती पार गरेपछि राम मन्दिर पर्छ र त्यसभन्दा करिब १०० मिटर माथि जंगलमा उक्त वस्तु भेटिएको हो। त्यसैले गलत सूचनामा आधारित हल्ला फैलिएको प्रहरीले जनाएको छ।
घटनापछि उक्त क्षेत्र वरपर सुरक्षाकर्मीको निगरानी बढाइएको छ। भेटिएका वस्तुहरूबारे विस्तृत अनुसन्धान भइरहेको र परीक्षण रिपोर्ट आएपछि मात्र स्पष्ट विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
