जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी
झापा । जंगली च्याउ सेवन गर्दा झापामा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारका सदस्यहरू च्याउ खाएपछि बिरामी भएका हुन् ।
प्रहरीका अनुसार घरमा पकाइएको जंगली च्याउ खाएपछि परिवारका सबै सदस्यको स्वास्थ्यमा समस्या देखिएको हो । बिरामी हुनेहरूमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिरामी परेकाहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले नौ जनालाई दमकस्थित बाल अस्पतालमा रिफर गरिएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ । चिकित्सकहरूको निगरानीमा उनीहरूको उपचार भइरहेको बताइएको छ ।
घटनापछि प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने जोखिम उच्च रहने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । पहिचान नभएका वा परीक्षण नगरिएका च्याउ खानु स्वास्थ्यका लागि खतरनाक हुन सक्ने भन्दै प्रहरीले सचेतना अपनाउन अनुरोध गरेको छ ।
