झापामा तीन वर्षमा १० हजारभन्दा बढीले गरे सुरक्षित गर्भपतन
झापा। जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ रहेका छन्। तीमध्ये नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट तथा स्वास्थ्य सेवा केन्द्रलगायतका संस्थाहरूबाट यो सेवा प्रदान हुँदै आएको छ। निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँदै आएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार पछिल्ला तीन वर्षमा सूचीकृत संस्थाबाट कुल १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या ६०६ रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए, जसमा २९२ जना २० वर्षमुनिका किशोरी रहेका थिए। तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा यो संख्या क्रमशः घट्दो अवस्थामा देखिएको छ।
त्यसैगरी, आव २०८१/८२ मा तीन हजार ६३७ जनाले सेवा लिएका थिए, जसमा १८३ जना २० वर्षमुनिका थिए। चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा दुई हजार ५८५ जनाले सेवा लिएका छन्, जसमा १३१ जना २० वर्षमुनिका किशोरी रहेका छन्।
विगत तीन वर्षको तथ्याङ्क अनुसार सुरक्षित गर्भपतनका लागि महिलाले शल्यक्रियाभन्दा औषधि विधि बढी रोजेको देखिएको छ। सो अवधिमा औषधि विधिबाट छ हजार १६ जनाले सेवा लिएका छन् भने शल्यक्रिया विधिबाट चार हजार २५ जनाले सेवा लिएका छन्।
असुरक्षित गर्भपतनका कारण मृत्युको घटना सरकारी अभिलेखमा नरहेको जनाइएको छ। यद्यपि सूचीकृत नभएका तथा निजी स्वास्थ्य संस्थाबाट असुरक्षित रूपमा गर्भपतन गराउने जोखिम रहने बताइएको छ।
गोपनियताका कारण कतिपय महिला सूचीकृत नभएका संस्था वा योग्यताविहीन स्वास्थ्यकर्मीबाट सेवा लिन बाध्य हुने गरेको पनि उल्लेख गरिएको छ।
