`

स्वास्थ्य मन्त्री पाण्डेद्वारा प्रादेशिक अस्पतालको निरीक्षण

Nepal One HD ३१ वैशाख २०८३ १५:३५
जीवनशैली/स्वास्थ्य

बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बाल वार्ड तथा डायलाइसिस सेवाको अवलोकन गरेका थिए। उनले अस्पतालमा उपचाररत बिरामीहरूसँग भेट गरी सेवाबारे प्रतिक्रिया पनि लिएका थिए।

स्वास्थ्यमन्त्री बनेपछि पहिलोपटक बागलुङ पुगेका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे विस्तृत जानकारी लिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारी र व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पतालको सेवा तथा जनशक्ति अवस्थाबारे मन्त्रीलाई जानकारी गराएका थिए।

निरीक्षण कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री कृष्ण पाठकसहित मन्त्री पाण्डे सहभागी भएका थिए। अस्पतालका चिकित्सक, कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्त्रीलाई स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको भन्दै प्रशंसा गरे। उनले अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिने उल्लेख गर्दै पूर्वाधार, उपकरण र जनशक्तिका क्षेत्रमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले सेवा निरन्तरताका लागि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारको थप जिम्मेवारी आवश्यक रहेको बताएका थिए। उनले विशेषज्ञ सेवाका लागि अस्थायी व्यवस्थाले मात्र नपुग्ने भन्दै स्थायी जनशक्ति व्यवस्थापनमा पहल गर्न आग्रह गरे।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले धौलागिरि प्रादेशिक अस्पतालमा स्टाफ नर्स अध्ययन कार्यक्रम सुरु गर्ने निर्णय गरिसकेको छ। अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध भएकाले कार्यक्रम सञ्चालनमा कुनै समस्या नहुने मन्त्रालयले जनाएको छ।

अस्पताललाई गत वर्ष १०० शय्यामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स कार्यक्रम सुरु गर्ने बाटो खुलेको हो। कार्यक्रमअन्तर्गत सैद्धान्तिक कक्षा बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित CTEVT भवनमा र व्यावहारिक अभ्यास धौलागिरि प्रादेशिक अस्पतालमै सञ्चालन गर्ने तयारी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *