`

समायोजनमा ढिलाइ : राप्रपा-राप्रपा नेपाल एकीकरण अलपत्र

Nepal One HD ७ जेठ २०८३ १५:०३
प्रमुख खबर

काठमाडौं । राप्रपाका नेता कमल थापाले राप्रपा र राप्रपा नेपालबीच भएको एकीकरण प्रक्रिया अझै टुंगोमा नपुगेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।

गत ०८२ पुस १६ गते दुई पार्टीबीच एकीकरण भए पनि समायोजन प्रक्रिया, भातृ संगठनहरूको एकीकरण तथा औपचारिक संरचनागत कामहरू अझै पूरा नभएको उनले बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै भनेका छन्, ‘तर, एकीकरण भएको पाँच महिना बित्न लाग्दा समेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अझै अलपत्र छ। यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्र समेत पठाउन सकिएको छैन। यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ। बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्य अधुरै छ।’

उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता अझ बढ्दै गएको पनि उल्लेख गरेका छन् ।

यसैबीच, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने समायोजन प्रक्रिया रोकिएको नभई पार्टी निर्वाचन र आन्तरिक व्यस्तताका कारण ढिलाइ भएको स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा राप्रपा नेपालबाट ७ जनाको समायोजन भइसकेको जानकारी दिएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘अन्य निकायमा समायोजनका बाँकी कामहरू टुङ्गो लगाउन राप्रपाबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र तत्कालीन राप्रपा नेपालबाट नेता राजीव पराजुलीलाई जेठ १ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिम्मेवारी दिएको छ।’

उनले समायोजन रोक्ने कुनै मनसाय नरहेको भन्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरेका छन् ।

उनको स्टाटस जस्ताको त्यस्तै:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *