`

उपत्यकाको ढल निकास सुधार गर्न सरोकारवाला निकायबीच छलफल

Nepal One HD ४ साउन २०८३ २१:४८
समाचार

काठमाडौँ, ४ साउनः काठमाडौं उपत्यकामा वर्षायाममा देखिने ढल निकास तथा पानी जम्ने समस्या समाधानका लागि सरोकार भएका निकायबीच छलफल भएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरोकार भएका निकायबीच भएको छलफलमा उपत्यकामा ढल निकासको समस्याका कारण बर्सेनि मनसुनको अवधिमा डुबानको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिइएको हो ।

छलफलमा विशेषगरी वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्या समाधान गर्न दीर्घकालीन उपायबारे विस्तृत समीक्षा गरिएको थियो । सहभागीहरूले तत्काल, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी समन्वयात्मक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा ढल निकास प्रणालीको सुधार, सडक निर्माण तथा मर्मतसम्भारका क्रममा पानी निकासलाई प्राथमिकतामा राख्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी बढाउने तथा सम्बन्धित निकायबीच नियमित समन्वय कायम गर्ने विषयमा छलफल भएको प्राधिकरणको प्रवक्ता शान्ति महतले जानकारी दिनभुयो ।

छलफलमा पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, जल तथा मौसम विज्ञान विभाग, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

महतका अनुसार सहभागीहरूले उपत्यकामा प्रत्येक वर्ष दोहोरिने डुबान र ढल निकास समस्याको दिगो समाधानका लागि सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्दै योजनाबद्ध रूपमा पूर्वाधार सुधारका काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *