`

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

Nepal One HD ११ साउन २०८३ २२:०५
समाचार

चितवन । चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अप्रेसन’ का क्रममा तीन जनालाई पक्राउ गरिएको हो।

निकुञ्जले आज जारी गरेको विज्ञप्तिमा सुरक्षा निकाय र कर्मचारीले अप्रेसनका क्रममा साउन ४ गते भरतपुर महानगरपालिका-२६ बाट गोरखाको पालुङ्टार-४ स्थायी घर भई भरतपुर ११ बस्ने ४४ वर्षीय रमेश सुनारलाई पक्राउ गरेको जनाइएको छ।

संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने अखेटोपहार ओसारपसार गरिरहेको अवस्थामा निजलाई पक्राउ गरी अनुसन्धान गरिएकामा सोही कसुरमा संलग्न रहेको खुल्न आएपछि थप दुई जना पक्राउ परेका विज्ञप्तिमा उल्लेख छ।

पक्राउ पर्नेहरूमा भरतपुर-२० का ४२ वर्षीया रेनु भनिने रीता परियार र भरतपुर-२९ का २७ वर्षीय सुभाष लामा रहेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरद्वारा जारी विज्ञप्तिमा निजहरूलाई जिल्ला अदालत चितवनमा प्रतिवादी बनाइ अभियोग दर्ता गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय माग दाबी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *