`

गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगे रवि

Nepal One HD १३ साउन २०८३ ११:२७
फोटोफिचर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएपछि लामिछाने सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेर दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

मंगलबार उपचारका क्रममा निधन भएका ८३ वर्षीय श्रेष्ठको पार्थिव शरीर अहिले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणका लागि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम सम्मान दिएका छन्।

श्रेष्ठको पार्थिव शरीरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। रास्वपा सभापति लामिछानेले पनि कांग्रेस कार्यालय पुगेर दिवंगत नेताप्रति सम्मान प्रकट गरेका हुन्।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

पेटको क्यान्सरबाट पीडित श्रेष्ठको मंगलबार ललितपुरस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी नेपाली कांग्रेसका पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वप्रमुख सचेतक तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेतामध्ये एक मानिन्थे।

उल्लेखनीय रूपमा, कांग्रेस सभापति गगन थापाले गत साउन ७ गते आयोजित कार्यक्रममा गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गर्ने घोषणा गरेका थिए। तर केन्द्रीय समितिबाट औपचारिक निर्णय हुनुअघि नै उनको निधन भएपछि उक्त घोषणा कार्यान्वयन हुन सकेन।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *