वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौँ-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौँ टोखा नगरपालिका-१० बस्ने कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौँ-९ बस्ने पाँचथरका ४१ वर्षीय तुलसीराम ढुङ्गेल पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पक्राउ परेकामध्ये मनोहरले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु तीन लाख ५० हजार, अनिलले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु आठ लाख ८४ हजार, कमलाले रोमानिया पठाइदिन्छु भन्दै एक जनाबाट रु छ लाख र तुलसीरामले युएई पठाइदिन्छु भन्दै एक जनाबाट रु छ लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
मनोहरलाई ललितपुर महानगरपालिका-३ बाट मङ्गलबार, अनिललाई काठमाडौँ महानगरपालिका-११ बाट, कमलालाई काठमाडौँ महानगरपालिका-२६ बाट र तुलसीरामलाई काठमाडौँ महानगरपालिका-९ बाट बुधबार पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
