`

प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह

Nepal One HD २२ साउन २०८३ १९:४९
राजनीति

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कागजमा भएका विकास र जनताले भोगेका समस्याबीच भिन्नता भएकाले त्यसलाई पहिचान गरेर काम गर्न आग्रह गर्नुभएको छ ।

बैठकमा दलीय आधारमा आफ्ना धारणा राख्ने क्रममा अरबिन्द साहले मधेसमा किसानले भोगेको प्रमुख समस्या सिँचाइ भएकालाई त्यसलाई समाधान गर्न आग्रह गर्नुभयो ।

सांसद खड्कबहादुर बुढाले कर्णाली प्रदेशका अधिकांश जिल्लामा सूचना प्रविधिका क्षेत्रमा पूर्वाधार विकासले गति लिन नसकेको बताउनुभयो । सांसद मोहम्मद इस्तियाक राईले अहिलेको सत्तापक्षमा रहेका सांसदले यसअघि विपक्षीमा रहँदा बोलेका कुरा र दिएका आश्वासनको स्मरण गराउँदै विधि र थितिका क्षेत्रमा हाल झन् समस्या देखिएको टिप्पणी गर्नुभयो ।

विशेष समयअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपक्षीले उठाएका विषयमा गम्भीर भएर विश्वसनीय रूपमा सरकार सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले मुलुकका विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको भन्दै सहज आपूर्ति व्यवस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । बजार अनुगमन प्रभावकारी बनाउँदै कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले कर्णाली प्रदेशमा पहिरोका कारण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको उल्लेख गर्दै अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्न आवश्यक रहेको र कर्णालीमा स्वास्थ्यकर्मीको अभावका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपरेको अवस्थाको अन्त्य गर्न सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

सांसद ध्रुवराज राईले सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले बढ्दो महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भोजपुर जिल्लामा लामो समयदेखि निर्माणाधीन पुलहरू अलपत्र परेको उल्लेख गर्दै उहाँले ती आयोजना शीघ्र सम्पन्न गर्न सरकारसँग माग गर्नुभयो । समयमै पुल निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिकले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।

सांसद खुश्बु ओलीले नेपाली खेलकुद क्षेत्रको विकासका लागि सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले नेपालमा खेलकुद विकासको पर्याप्त सम्भावना रहेकाले त्यसको सदुपयोग गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सांसद मनिष झाले सामाजिक सन्तुलन, सामाजिक न्याय र लोकतन्त्रलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकतालाई कायम राख्दै लोकतान्त्रिक मूल्य, मान्यताको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद सन्दीप रानाले राज्य जनताप्रति जवाफदेही हुनसकेमा मात्रै सुशासन र पारदर्शी कायम हुनसक्ने बताउनुभयो ।

सांसद गुरुप्रसाद बरालले लुघवित्त तथा वित्तीय शोषणविरुद्ध माइतीघरमा आन्दोनरत पीडितको गुनासो सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । उच्चस्तरीय वित्तीय सुशासन समिति गठन गरी उनीहरूको माग सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद गोपाल शर्माले जाजरकोट भूकम्पपीडितहरू सर्पदंश, पहिरो, डुबानलगायत समस्याबाट जुधिरहेको भन्दै भूकम्पपीडितलाई दिने अनुदान समयमा नै दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद अङ्गीता ठाकुरले गुणस्तरीय शिक्षामा जोड दिनुभयो । शिक्षामा लगानी गर्ने मुलुकहरू समृद्धिमा अगाडि बढिरहेका छन्, नेपालमा पनि शैक्षिक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *