अटो क्षेत्रको बदलिँदो स्वरूपमाथि नाइमा एक्स्पोमा ६ दिने छलफल हुने
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ सवारीसाधनको प्रदर्शनीमा मात्रै सीमित नहुने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एक्स्पो अवधिभर अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका समसामयिक विषयमा केन्द्रित रहेर ६ दिने संवाद कार्यक्रम आयोजना गर्ने भएको छ। साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा हरेक दिन फरक विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल हुनेछ। ‘नाइमा मोबिलिटी संवाद’ अन्तर्गत आयोजना हुने सिकाइ सत्र नेपाल प्रहरी क्लबको ब्लु पेभिलियन सभाहलमा सञ्चालन हुनेछन्।
आयोजकका अनुसार संवाद कार्यक्रममा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत, आर्थिक, प्राविधिक तथा भविष्यका विषयलाई प्राथमिकतामा राखिनेछ। सबै सत्रमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। एक्स्पोको पहिलो दिन साउन २६ गते आर्थिक विकास र लगानीसँग सम्बन्धित विषयमा छलफल हुनेछ। ‘आर्थिक विकासका लागि इन्धन परिचालन’ विषयमा हुने बहसमा अर्थतन्त्रमा लगानीको आवश्यकता, विदेशी लगानी आकर्षित गर्ने वातावरण तथा मोबिलिटी क्षेत्रले आर्थिक गतिविधिमा पार्न सक्ने प्रभावबारे चर्चा हुनेछ।
उक्त छलफलमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा नाइमा अध्यक्ष ऋतु सिंह वैद्य सहभागी हुनेछन्। कार्यक्रमको सञ्चालन अनुभवी बैंकर तथा लिड नेपाल इंकका अध्यक्ष अनिल केशरी शाहले गर्नेछन्। त्यस्तै, साउन २७ गते ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा बहस हुनेछ। उक्त सत्रमा ट्राफिक व्यवस्थापन, यातायात व्यवसाय तथा नेपालको समग्र यातायात प्रणालीसँग सम्बन्धित सरोकारवालाबीच छलफल गरिनेछ।
यातायात क्षेत्रको वर्तमान अवस्था, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायातका चुनौती तथा भविष्यमा आवश्यक पर्ने सुधारका विषयमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ। बाँकी चार दिनमा पनि अटोमोबाइल तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित फरक–फरक विषयमा संवाद सञ्चालन हुनेछन्। यसमार्फत व्यवसायी, नीति निर्माता, विज्ञ र सरोकारवालाबीच प्रत्यक्ष संवादको वातावरण तयार गर्ने नाइमाको लक्ष्य छ।
नाइमा नेपालले एक्स्पोलाई नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनीसँगै नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा भविष्यका सम्भावनाबारे छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्न खोजेको जनाएको छ।
