क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
ललितपुर। ललितपुरको हरिसिद्धिमा सञ्चालित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक, कान र घाँटीसम्बन्धी क्यान्सरको उपचारमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको दाबी गरेको छ ।
अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले टाउको र घाँटीसम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।
“पछिल्लो समय धुम्रपान, सुर्तिजन्य पदार्थको सेवन गर्ने २० देखि ४० वर्ष उमेर समूहका युवामा मुखको क्यान्सर बढ्दै गएको छ । मुखमा लामो समयसम्म निको नहुने घाउ, सेतो वा रातो दाग, गाँठागुँठी वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग जाँच गराउनुपर्छ । प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागे उपचार सरल, कम खर्चिलो र सफल हुने सम्भावना अत्यधिक रहन्छ”, कार्यकारी अध्यक्ष डा श्रेष्ठले भन्नुभयो ।
अस्पतालको नाक, कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा प्रभातचन्द्र ठाकुरका अनुसार अधिकांश बिरामी क्यान्सरको तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउने गर्दछन् । उहाँले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा जिब्रो, गिजा, गालाको भित्री भाग, तालु तथा मुखभित्र दुईदेखि तीन सातासम्म निको नहुने घाउ, सेतो वा रातो दाग वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग सम्पर्क गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय नाक, कान, घाँटीको क्यान्सरका बिरामी बढ्दै गएका जानकारी गराउँदै क्यान्सर शल्यचिकित्सक डा ठाकुरले महिलामा थाइराइडको क्यान्सर बढ्दै गएको बताउनुभयो । आफ्नो १० वर्षे उपचार सेवामा उल्लेख्य सफलता हासिल गरेको दाबी गर्दै क्यान्सर पत्ता लागेका बिरामीमा एकदेखि दुई दिनमा समस्या पहिचान गरेर उपचार सुरु गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
डा ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाटै सम्भव हुने भएकाले ‘सेल्फ ओरल एक्जामिनेसन’ लाई राष्ट्रिय जनचेतना कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राथमिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा दन्त चिकित्सकलाई प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिँदा ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
