जय नेपाल पार्टीमा एकता अभियान तीव्र, १० दल तथा अभियानसँग वार्ता
काठमाडौं । जय नेपाल पार्टीले विभिन्न राजनीतिक दल, अभियान तथा स्वतन्त्र व्यक्तिहरूसँग पार्टी एकताका लागि वार्तालाई तीव्र बनाएको छ । पार्टीले विभिन्न तह र चरणमा एकता वार्ता अघि बढाइरहेको जनाएको छ ।
पार्टीले गठन गरेको वार्ता समितिका संयोजक नारायण कोइरालाका अनुसार हाल १० वटा राजनीतिक दल तथा अभियानसँग एकताका लागि छलफल भइरहेको छ । सम्बन्धित पक्षसँग विभिन्न चरणमा वार्ता जारी रहेको उनले बताए ।
यसैबीच निर्वाचन आयोगमा दल दर्ता कायम रहेको राष्ट्रिय एकता मञ्च भदौ १७ गते जय नेपाल पार्टीमा समायोजन भइसकेको छ । सोही दिन पार्टीका सभापति डा. धवलशम्सेर राणाले राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्र लाल जोशीसहित पदाधिकारीलाई जय नेपाल पार्टीमा स्वागत गरेका थिए । राष्ट्रिय एकता मञ्चमा काठमाडौंका रैथानेहरूको बाहुल्य रहेको बताइन्छ ।
जय नेपाल पार्टीको वार्ता समितिमा संयोजक कोइरालासहित अन्जना शाह रावल, सुरेश आचार्य, प्रज्जवल बोहरा र होमनाथ गौतम सदस्य छन् ।
त्यस्तै, कुनै राजनीतिक दल वा अभियानमा संस्थागत तथा समूहगत रूपमा संलग्न नभएका स्वतन्त्र व्यक्तिहरूसँग पनि पार्टीले वार्ता र एकताको प्रयास अघि बढाएको छ । विभिन्न चरण र तहमा त्यस्ता व्यक्तिहरूसँग छलफल भइरहेको वार्ता टोलीका संयोजक धनसुर शाहीले जानकारी दिए ।
स्वतन्त्र व्यक्तिहरूसँगको वार्ता समितिमा इश्वरी प्रसाद भट्टराई, केदार बहादुर धमला, मिना शाही, ठमान सिंह तामाङ, प्रभात योगी र सिवाङुगीनी राणा सदस्य छन् ।
यसैगरी, जय नेपाल पार्टीले आन्तरिक पार्टी व्यवस्थापनलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्यहरूको वरियताक्रम निर्धारण गर्न मर्यादाक्रम निर्धारण समिति गठन गरेको छ ।
समितिको संयोजकमा सुरेश आचार्य रहेका छन् । सदस्यहरूमा मिना शाही, नानी मैयाँ आचार्य, धनसुर शाही र प्रज्जवल बोहरा रहेका छन् ।
