बालेनलाई बस्नेतको प्रश्न : ३५ वर्षमा के भयो भन्नेले पुल कति दिनमा बनाउने हो?
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो बाढी तथा प्राकृतिक विपत्तिले विगतमा निर्माण भएका भौतिक पूर्वाधारको अवस्था र त्यसको पुनर्निर्माणको चुनौतीबारे सोच्न बाध्य बनाएको बताएका छन्।
‘३५ वर्षमा पुराना दलले के गरे भन्ने बालेनहरूलाई बाढीको महाविपत्तिले निम्न कुरा अवश्य बुझायो होला। ३५ वर्षमा-एउटै खोलामा १ दर्जन हाइड्रोपावर, एउटै खोलामा ४० वटा पुल, खरबौँका पक्की सडकर गाउँ-गाउँसम्म भौतिक पूर्वाधार बनेका रहेछन्,’ उनले फेसबुकमा लेखेका छन्।
बस्नेतले ३५ वर्षको अवधिमा एउटै खोलामा दर्जनौँ हाइड्रोपावर, पुल तथा खर्बौँ रुपैयाँका पक्की सडक निर्माण भएको उल्लेख गर्दै बाढीबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न अब कति समय लाग्छ भन्ने प्रश्न उठाएका छन्।
उनले अगाडी लेखेका छन्, ‘बाढीले बिगारेका यी संरचना अब तपाईंहरू कति वर्षमा बनाउनुहुन्छ? भाषणमा बनाउन सजिलो छ भनेर भन्नेहरु, बनिसकेको संरचना जोगाउन र विपत्तिमा जनताको साथ दिन कति गाह्रो रहेछ, अब बुझ्दै हुनुहोला!’
उनले बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा बस्तीमा ठूलो क्षति पुर्याएको भन्दै विगतमा निर्माण भएका संरचनाको संरक्षण र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने संकेत गरेका छन्।
बस्नेतको भनाइमा बाढीको महाविपत्तिले विकास निर्माणको उपलब्धिसँगै त्यसको दीर्घकालीन सुरक्षा र पुनर्निर्माणको चुनौतीसमेत उजागर गरेको छ।
