बाढीपीडितको आँगनमा अनेरास्ववियू, राहतसँगै स्थानीय तहलाई सहयोग
रसुवा। बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकलाई राहत पुर्याउन अनेरास्ववियूले सञ्चालन गरेको सहायता अभियान जारी राखेको छ ।
केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले नौकुण्ड गाउँपालिका–४ का २६ पीडित परिवारलाई उनीहरूकै घरमा पुगेर राहत सामग्री दिएको छ । वडा अध्यक्ष नोकेन्द्र तामाङको उपस्थितिमा पीडित परिवारलाई आवश्यक सामग्री वितरण गरिएको हो ।
टोलीले उत्तरगया गाउँपालिकाको बेत्रावती क्षेत्रमा पनि सहयोग पुर्याएको छ । गाउँपालिका प्रमुख माधव अर्याल र वडा नम्बर ५ का अध्यक्ष यमनाथ आचार्यलाई खाद्यान्न, औषधि, कपडा, सोलार, बत्ती, टर्च, भाँडाकुँडा तथा सरसफाइका सामग्री हस्तान्तरण गरिएको अनेरास्ववियूले जनाएको छ ।
संगठनका अनुसार विपत्तिमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु अभियानको मुख्य उद्देश्य हो । राहत वितरणसँगै प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउने कामलाई पनि अभियानले जोड दिएको छ ।
उपाध्यक्ष अशोक थापाले यो अभियान राहत बाँड्ने कार्यक्रम मात्र नभई संकटमा परेका नागरिकसँग संगठनको प्रत्यक्ष सम्बन्ध र जिम्मेवारी देखाउने प्रयास भएको बताए ।
उनका अनुसार बाढीपहिरो प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने काम आगामी दिनमा पनि जारी रहनेछ।
