लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति
मुस्ताङ। यही भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्णरुपमा क्षति भएका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार लोमान्थाङ गाउँपालिकाअन्तर्गत लोमान्थाङ–५ बाहेक अन्य वडामा मङ्गलबार रातिको भूकम्पले सयौँ घरमा क्षति पुगेको छ । लोमान्थाङ गाउँपालिकामा भूकम्पको क्षति विवरण सङ्कलन बुधाबारदेखि थालिएको छ । अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहितका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय लोमान्थाङ, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र एक्याप लोमान्थाङका प्रतिनिधीहरुले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गर्न थालेका हुन् ।
गाउँपालिकाका गुरुङले अहिलेसम्म लोमान्थाङ गाउँपालिकाअन्तर्गत वडा नं ३ को नाम्ग्याल, फुवा र ठिङ्गर, वडा नं ४ अन्तर्गत किम्लिङ, चुम्जुङ र नाम्डोक तथा वडा नं १ को छोसेर क्षेत्रमा भूकम्पको क्षति विवरण सङ्कलन भएको बताउनुभयो । लोमान्थाङको वडा नं ३ ,४ र वडा नं १ छोसेर गाउँको आधा क्षति विवरण सङ्कलन हुँदा झण्डै ३० घर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
लोमान्थाङ गाउँपालिका–२ छोसेर र वडा नं ५ को लोमान्थाङमा क्षति विवरण सङ्कलन हुन बाँकी छ । भूकम्पको क्षति विवरण सङ्कलन गर्ने क्रममा लोमान्थाङ–५ बाहेक सबै वडामा भूकम्पको असरले स्थानीयका अधिकांश घरमा आंशिक चिरा परेका र भत्किने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो । लोमान्थाङ क्षेत्रमा भूकम्पले पु¥याएको विस्तृत क्षति विवरण सङ्कलन हुन केही समय लाग्ने बताइएको छ ।
भूकम्पले पूर्ण रुपमा क्षति भएका घरका बासिन्दालाई तत्कालका लागि समाजघर र पाल टाँगेर पुनःस्थापना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले राससलाई बताउनुभयो ।
भूकम्पले सबैभन्दा बढी क्षति लोमान्थाङ–३ फुवा र त्यस आसपासका गाउँमा परेको छ । लोमान्थाङ क्षेत्रका भूकम्प पीडितको पुनःस्थापना तथा अन्य सहयोगका लागि स्थानीय जनप्रतिनिधिसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष विष्टले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पले फुवामा एउटा घरमा क्षति भएको र लोमान्थाङ–५ लोमान्थाङको छोदे गुम्बाको बाहिर पर्खालमा क्षति पुगेको जनाएको थियो ।
लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको असरले उक्त क्षेत्रका स्थानीयबासी प्रभावित भएका छन् । लोमान्थाङ क्षेत्रमा मङ्गलबार राति ९ बजेर ५३ मिनेट जाँदा पहिलो पटक भूकम्प गएको थियो ।
गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार लगत्तै नौ पटकसम्म भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पको पहिलो धक्का महशुस भएपछि उपल्लो मुस्ताङका बासिन्दा सुरक्षित स्थानको खोजीमा रातभर घर बाहिर निस्किएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको पूर्ण क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिनुभयो ।
