`

पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन अघि बढाउँदै महानगर

Nepal One HD २७ भदौ २०८३ ६:४०
समाचार

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ ।

महानगरले गरेको छानविनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् ।

जसमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी तथा २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन् । महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ ।

महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई अघि बढाइने बताए ।

उनका अनुसार बसपार्क क्षेत्रका सुकुमबासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया आउँदो आइतबारदेखि पुनः अघि बढाइने छ । नयाँ बस्ती व्यवस्थापन तथा सुकुमबासी समस्या समाधानका लागि गठित जिल्ला समितिको आवश्यक निर्णय प्रक्रिया अगाडि बढिरहेको प्रमुख आचार्यले बताए ।

“भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्बन्धित सबैको कार्यव्यस्तता उद्धार तथा राहततर्फ केन्द्रित भएपछि बस्ती व्यवस्थापनको काम केही दिनका लागि रोकिएको थियो । अब भने बाँकी निर्णय प्रक्रिया पुनः अघि बढाइनेछ । विपद्का बेला सुकुमबासी बस्ती व्यवस्थापन वा निर्माणका काममा केही दिन ढिलाइ हुनुभन्दा नागरिकको उद्धार, राहत, शव व्यवस्थापन तथा मानवीय सहयोगलाई प्राथमिकता दिएका छौँ”, आचार्यले भने ।

प्रमुख आचार्यले मनसुनसमेत क्रमशः रोकिँदै गएको उल्लेख गर्दै बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम पनि सँगसँगै अघि बढाइने जानकारी दिए । महानगरले बसपार्कका सुकुमबासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र बसोबास गरिरहेको स्थानबाट हटाउने र त्यसका लागि जमिन केही स्थानमा पहिचान भइसकेको जनाएको छ ।

पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । योजना बनेको पाँच दशकसम्म बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रको सडक फेटी र फुटपाथबाटनै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्ने बाध्यता छ ।

बसपार्कभित्रको जग्गा सुकुमबासी र अन्य केही व्यक्तिले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन । पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर कवल हटाएको छ । महानगरले बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधा सम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ ।

पृथ्वीचोकमा सुविधा सम्पन्न बसपार्क बनाउन तथा पोखराको स्मार्ट यातायात व्यवस्थापनका लागि दक्षिण कोरिया सरकारले सहयोग गर्ने भएको छ । कोरियाली विकास नियोग(कोइका)ले यहाँको यातायात प्रविधिमैत्री र वातावरणमैत्री बनाउनका लागि लगानीको प्रतिबद्धता जनाइसकेको महानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *