`

इन्द्रजात्राको तयारी : भक्तपुर पुग्यो गुठी संस्थानको टोली

Nepal One HD २८ भदौ २०८३ १८:२९
समाचार

काठमाडौँ। इन्द्रजात्राका लागि लिङ्गो बनाउन रुख काट्न हिँड्ने साइत गरी यो पर्वको प्रक्रिया आरम्भ भएको छ। प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा वन यात्रा सुरु गरी लिङ्गोका लागि रुख काट्न वनमा जाने परम्परा रहेको छ ।

त्यसअनुसार आज बिहान ९ः५३ को साइतमा वसन्तपुर दरबार क्षेत्रबाट साइत गरिएको गुठी संस्थानका मुख्य कानुन अधिकृत एवं प्रवक्ता जनक पोखरेलले जानकारी दिए। समितिले इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न दिएको साइतमा निस्केर भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित नाला सामुदायिक वनमा गइन्छ। इन्द्रजात्रा र बिस्केट जात्राका लागि यही सामुदायिक वनबाट सल्लाको रुख ल्याउने गरिएको संस्थानका कर्मचारी रमेश काफ्लेले बताए।

वनमा पुगेर तरबार र खड्ग एवं रुखको पनि पूजा गरी समितिले नै दिएको साइत रातिको ८ः४७ बजे रुख काटिन्छ। रुख काट्नुअघि बोकाको बलिसहित तान्त्रिक विधिले पनि पूजा गर्ने परम्परा रहेको छ। इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्न सामुदायिक वनसँग सम्झौता गर्ने गरिएको छ। बिस्केट जात्राको लिङ्गो काट्नका लागि भने ‘टेण्डर’ नै गर्ने गरिएको संस्थानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *