`

च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

Nepal One HD २९ भदौ २०८३ ६:५८
समाचार

बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता हुनुभएको छ ।भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ ।

जङ्गलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उहाँको खोजी सुरु गरेका छन् । डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ ।

खड्का बेपत्ता भएको छ दिन बितिसक्दा पनि उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ । उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजीकार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उहाँका काका फिट्टु खड्काले बताउनुभयो ।

परिवारले बेपत्ता खड्काको खोजीकार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ । खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपिल गरेको छ ।

परिवारले खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन स्थानीयवासी तथा सबै सरोकारवालासँग आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *