युद्ध र विनाशको चपेटामा गाजाको पत्रकारिता
काठमाडौं । सन् २०२३ अक्टोबरदेखि युद्ध र विनाशको चपेटामा परेको गाजामा पत्रकारिता आफैं एउटा जोखिमपूर्ण संघर्ष बनेको छ।
समाचार संकलन र रिपोर्टिङ गर्ने क्रममा धेरै पत्रकारले ज्यान गुमाएका छन्, घाइते भएका छन् र आफ्नै परिवार तथा घरबार गुमाएर पनि कामलाई निरन्तरता दिइरहेका छन्।
४० वर्षीया पत्रकार निसरिन थाबेत यसको एउटा उदाहरण हुन्। सन् २०२४ जुलाईमा इजरायली हवाई आक्रमणमा उनका पति हैदर अल–मसदर मारिए। राजनीतिक तथा सञ्चार मामिलाका लेखक तथा अनुसन्धानकर्ता मसदर मध्य गाजास्थित एक अस्पताल परिसरमा पत्रकारहरू बसेको पालमा भएको आक्रमणमा मारिएका थिए।
पति गुमाएपछि पनि थाबेत आफ्ना दुई सन्तानसहित युद्धको सामना गर्दै पत्रकारितामा सक्रिय छिन्। उनका लागि अहिले पत्रकारिता र मातृत्व दुवै जिम्मेवारी एकसाथ सम्हाल्नु ठूलो चुनौती बनेको छ।
युद्ध र पटक–पटकको विस्थापनले दैनिक जीवन नै अस्तव्यस्त बनेको थाबेतले बताएकी छन्। उनका बालबालिकाको सुरक्षा, बसोबास र काम सबै कुरा एकैपटक व्यवस्थापन गर्नुपर्ने अवस्था छ। यातायात र सञ्चार सेवाको अभावले समाचार संकलन र रिपोर्टिङसमेत कठिन बनेको उनको भनाइ छ।
हाल पालमा बस्दै आएकी उनी आफू र छोराछोरीलाई जुनसुकै बेला अर्को सुरक्षित स्थानमा सार्नुपर्ने हुन सक्ने भएकाले आवश्यक सामान सधैं तयार राख्छिन्। पटक–पटक विस्थापित हुनुपर्दा आफूहरूले चाहेजसरी घटनाको रिपोर्टिङ र अभिलेखीकरण गर्न नसकेको उनको गुनासो छ।
महत्त्वपूर्ण घटनाहरू प्रत्यक्ष देख्दा त्यसलाई अभिलेख गर्न चाहना भए पनि निरन्तरको विस्थापन र सुरक्षाको जोखिमका कारण धेरै घटना छुट्ने गरेको उनले बताएकी छन्।
युद्धका कारण धेरै अन्तर्राष्ट्रिय पत्रकार गाजाबाट बाहिरिएपछि त्यहाँको अवस्थाको प्रत्यक्ष रिपोर्टिङ गर्ने जिम्मेवारी स्थानीय पत्रकारहरूमाथि थपिएको छ। आफ्नै ज्यान जोखिममा रहे पनि गाजाको वास्तविक अवस्था विश्वसामु पुर्याउनु आफ्नो जिम्मेवारी भएको थाबेतको भनाइ छ।
३२ वर्षीय आमेर सुल्तान सन् २०१४ देखि फोटो पत्रकारका रूपमा काम गर्दै आएका छन्। विशेषगरी रातको समयमा हुने र कम कभरेज पाउने घटनाहरूलाई दस्तावेज गर्ने प्रयास गर्ने उनी बताउँछन्।
तर युद्धले उनको आफ्नै परिवार पनि तहसनहस बनाएको छ। सन् २०२३ अक्टोबर ७ मा जबालिया शरणार्थी शिविरस्थित घरबाट गाजा सिटीमा भइरहेको घटनाक्रमको रिपोर्टिङ गर्न निस्किएका सुल्तान पछि दक्षिणतर्फ विस्थापित हुनुपर्यो।
उनका परिवारका सदस्य भने उत्तरमै थिए। परिवारसँग पुनर्मिलन हुने उनको आशा सन् २०२५ जनवरी १६ मा टुट्यो। त्यस दिन उनले आफ्नी आमासहित परिवारका १३ जना सदस्य आफ्नै घरभित्र मारिएको खबर पाए।
आफू पनि युद्धबाट प्रत्यक्ष प्रभावित भए पनि पत्रकारितालाई निरन्तरता दिइरहेका सुल्तानले प्यालेस्टिनी जनतामाथिको हिंसा रोक्न र युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
गाजास्थित प्यालेस्टिनी पत्रकार संघका उपप्रमुख तहसिन अल–अस्तलका अनुसार थाबेत र सुल्तानजस्ता १ हजार ५ सयभन्दा बढी प्यालेस्टिनी पत्रकार युद्धबाट प्रत्यक्ष प्रभावित भएका छन्।
उनका अनुसार युद्धका क्रममा २५० भन्दा बढी पत्रकार मारिएका छन् भने दर्जनौँ घाइते भएका छन्। कतिपय पत्रकार पटक–पटक घाइते भएका छन्।
युद्धले सञ्चार संरचनामाथि पनि ठूलो असर पारेको अल–अस्तलको भनाइ छ। उनका अनुसार १५० भन्दा बढी स्थानीय, अरब तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालय र उत्पादन केन्द्रहरू नष्ट वा क्षतिग्रस्त भएका छन्।
गाजाका पत्रकारका लागि पत्रकारिता अहिले समाचार संकलन वा पेशागत जिम्मेवारीमा मात्र सीमित छैन। उनीहरूले आफ्नै परिवार, घर, छिमेक र समुदायमाथि भइरहेको विनाशलाई अभिलेख गर्ने प्रयास पनि गरिरहेका छन्।
आफैं युद्धका पीडित बनेर पनि उनीहरू क्यामेरा र कलममार्फत गाजाको कथा संसारसामु पुर्याइरहेका छन्।
