वीरगन्जको मुख्य सडक दसैँअघि व्यवस्थित गरिने
पर्सा । वीरगन्जको मुख्य सडकलाई दसैँअघि नै पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने भएको छ । वीरगन्ज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा लत्रिएका तार व्यवस्थित गर्ने काम सुरु भएको जनाएको छ ।
सडक विस्तारका क्रममा तार अव्यवस्थित भएपछि पैदलयात्री तथा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै जोखिम बढेपछि व्यवस्थापनको काम सुरु गरिएको वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
भत्काइएका संरचनाका अवशेष, निर्माण सामग्री तथा अन्य अव्यवस्थित सामग्री हटाएर सफा गर्ने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए।
दसैँअघि सडक पूर्ण रूपमा सफा र व्यवस्थित गर्ने विषयमा महानगरपालिका प्रमुख सिंहले जोड दिएका छन् । वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबिच भएको छलफलसँगै सडक विस्तारका क्रममा भत्काइएका संरचनाका अवशेष, निर्माण सामग्री तथा अन्य अव्यवस्थित सामग्री हटाएर मुख्य सडकलाई व्यवस्थित र सफा बनाउने विषयमा सहमति पनि भएको छ ।
मुख्य सडक क्षेत्रमा रहेका अधिकांश घर तथा संरचना भत्काइएपछि त्यसको व्यवस्थापन नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए ।
सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्ने उद्देश्यले घर तथा आवास भत्काउने काम सम्पन्न भइसकेको इन्जिनियर दुर्गाप्रसादले बताउनुभयो । सडक डिभिजन कार्यालय हेटौँडाले गत वैशाख ६ गतेदेखि सडक विस्तारको सुरु गरेको थियो ।
बाढी प्रभावितलाई महानगरले सहयोग गर्ने
वीरगन्ज महानगरपालिकाले पर्साबाट भोटेकोशी बाढीमा परी बेपत्ता भएका परिवारलाई आवश्यक सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख सिंहले आइतबार बाढीमा बेपत्ता भएका स्थानीय जगरनाथपुरका छ परिवारलाई भेट गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उहाँले प्रभावित परिवारसँग बेपत्ताको अवस्था, खोजीका क्रममा भएका प्रयास तथा परिवारले भोगिरहेको समस्याबारे जानकारी लिएका थिए । उनले जिल्लाबाट बाढीमा परी बेपत्ता भएकाको परिवारलाई महानगरले सक्दो सहयोग गर्ने बताए ।
बेपत्ता हुनेमा वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरका २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी छन् ।
