`

जलअप्सरा, नामजस्तै सुन्दर चरा [फोटो-फिचर]

Nepal One HD ५ असोज २०८३ ११:०३
फिचर

सुनसरी। लामो पुच्छर, आकर्षक रंग र पानीमाथि तैरिएका पातमा सहजै हिँड्न सक्ने क्षमता। सिमसार क्षेत्रमा पाइने जलअप्सरा चरा नामजस्तै सुन्दर देखिन्छ।

यसको टाउकोको अगाडिको भाग सेतो हुन्छ। घाँटीको पछाडिको भाग चम्किलो सुनौलो र शरीर गाढा खैरोदेखि कालोसम्म देखिन्छ। लामा खुट्टा र औँलाका कारण यो पानीमा तैरिएका कमलका पात तथा अन्य वनस्पतिमाथि सन्तुलित भएर हिँड्न सक्छ।

अहिले सिमसार क्षेत्रमा जलअप्सरा सहजै देख्न सकिन्छ। दुर्लभ प्रजाति नभए पनि यसको आकर्षक रूपका कारण चराप्रेमी र फोटोग्राफरहरू यसलाई क्यामेरामा कैद गर्न लालायित हुन्छन्।

पक्षीविद् अनिष तिम्सिनाका अनुसार कोसीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार क्षेत्रमा जलअप्सराले पानीमाथि तैरिने गुँड बनाएर बच्चा हुर्काइरहेको देखिन्छ। प्रशस्त पानी भएका कारण अहिले यसको बासस्थान सिमसार क्षेत्रमा विस्तारिएको छ। जाडो मौसममा भने यो चरा कम देखिन्छ।

जलअप्सराले कमलका ठूला पात र जलकुम्भी भएका स्थानमा गुँड बनाउन रुचाउँछ। पानीमा पाइने किरा, लेउ, वनस्पतिका दाना तथा फूलका कलिला कोपिला यसको मुख्य आहारा हुन्।

जलअप्सराको प्रजनन प्रक्रिया पनि रोचक छ। तिम्सिनाका अनुसार माघ–फागुनतिर जोडी खोज्ने प्रक्रिया सुरु हुन्छ। वैशाख–जेठतिर पोथीले अण्डा पार्ने र प्रजनन प्रक्रिया अघि बढाउँछ। असोज–कार्तिकसम्म बच्चा हुर्किएर वयस्क बन्न थाल्छन्।

पोथीले एउटै प्रजनन सिजनमा धेरै भालेसँग जोडी बाँध्ने गर्छ। पानीमाथि तैरिने गुँडमा अण्डा पारेपछि पोथी त्यहाँबाट हिँड्छे। त्यसपछि अण्डा कोरल्ने र बच्चा हुर्काउने जिम्मेवारी भालेले सम्हाल्छ।

जलअप्सराको रूप र रंग पनि प्रजनन अवस्थाअनुसार परिवर्तन हुने तिम्सिना बताउँछन्। उनका अनुसार बच्चा हुर्कँदै जाँदा लामो पुच्छर छोटिँदै जान्छ र प्रजनन समयमा फेरि लामो हुन्छ। टाउकोको अगाडिको भाग, घाँटीपछाडिको पहेँलो रंग र शरीरको अन्य भागको रंगमा समेत परिवर्तन देखिन्छ।

सप्तकोशीको मध्यभाग तथा आसपासका जंगल क्षेत्रमा रहेका पानीका सुरक्षित पोखरीमा पनि यो चरा देखिने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *