सल्यानमा स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सल्यानको दार्मा गाउँपालिकामा देखिएको स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री शाहीले भोलि बिहानसम्म स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप एक हजार किट, आवश्यक औषधि तथा चिकित्सकसहितको जनशक्ति पठाउन निर्देशन दिएका हुन् ।
स्क्रबटाइफसका कारण दार्माका वडा नं १, ५ र ६ बढी प्रभावित देखिएको छ । प्रकोप नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहित प्रदेश सरकारले परीक्षण किट, औषधि र थप स्वास्थ्यकर्र्मी पठाउने तयारी गरेको छ ।
मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उपलब्ध स्रोत साधन परिचालन गरेर रोगलाई नियन्त्रणमा लिन सम्बन्धित निकायलाई उहाँले आग्रहसमेत गरेका छन् ।
मुख्यमन्त्रीको निर्देशानुसार स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ । प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनका साथै वडा नं १ मा स्थानीयको रगत परीक्षण गरिएको अधिकृत रिजालले जानकारी दिए ।
स्क्रबटाइफस परीक्षणका लागि कर्णाली प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २०० र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी हालसम्म ४५० वटा किट दार्मा पठाइएको छ । प्रकोपको अवस्था हेर्दा तत्काल कम्तीमा एक हजार थप परीक्षण किट आवश्यक रहेको जनस्वास्थ्य अधिकृत रिजालले बताए ।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रतीक भट्टका अनुसार जिल्ला अस्पताल सल्यानको ल्याबबाट ३५ जना र बागचौर नगरपालिकामा ६२ जनामा स्क्रबटाइफस पुष्टि भएको छ । सल्यानकै कालीमाटी र कुमाख गाउँपालिकामा पनि प्रकोट देखिएपछि दुवै पालिकाले परीक्षण किटको माग गरेका छन् । यता प्रदेश सरकारले जिल्लाका जोखिमयुक्त क्षेत्रमा परीक्षण तथा निगरानी बढाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा कार्यालयले यसअघि स्क्रबटाइफससँगै डेङ्गु परीक्षण किटलगायतका आवश्यक औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो । सोही पत्र र मुख्यमन्त्रीको निर्देशनअनुसार आवश्यक औषधी तथा किट भोलि बिहानै सल्यान पठाउने तयारी भइरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले जानकारी दिए ।
