ट्रम्प-सी भेट : बदलिँदो विश्व व्यवस्थाको ऐना
काठमाडौं। दोस्रो विश्वयुद्धपछि अमेरिकाको नेतृत्वमा बनेको विश्व व्यवस्था आफैं परिवर्तनको दबाबमा छ। यही समयमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको पछिल्लो भेटलाई केवल दुई राष्ट्रप्रमुखबीचको सामान्य कूटनीतिक भेटका रूपमा हेर्न मिल्दैन। एकातिर अमेरिका र चीनबीच व्यापार, प्रविधि र रणनीतिक प्रतिस्पर्धा चर्किरहेको छ भने अर्कोतिर रूस-युक्रेन युद्ध जारी छ। मध्यपूर्वमा इरानसँग जोडिएको तनावले नयाँ रूप लिइरहेको छ र विश्वभर जलवायु संकटको प्रभाव गहिरिँदै गएको छ।
ट्रम्प-सी भेटलाई अहिलेको विश्व राजनीति बुझ्ने एउटा महत्वपूर्ण बिन्दुका रूपमा हेर्न सकिन्छ।
सी सन् २०१५ मा बराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा औपचारिक स्टेट भ्रमणमा अमेरिका पुगेका थिए। २०१७ मा डोनाल्ड ट्रम्पसँग फ्लोरिडाको मार-ए-लागोमा भेटे। २०२३ मा जो बाइडेनसँग सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक को-अपरेसन (एपीईसी) सम्मेलनका क्रममा भेटवार्ता गरे। तर अहिलेको भ्रमण २०१५ पछि वासिङ्टनमा भएको उनको पहिलो औपचारिक स्टेट भ्रमण हो। त्यसैले यसपटक ट्रम्पले सीलाई गरेको भव्य स्वागत आफैंमा एउटा कूटनीतिक सन्देश हो।
अमेरिका र चीनबीचको मूल प्रतिस्पर्धा सकिएको छैन। दोस्रो विश्वयुद्धपछि चीनले विस्तार गरेको सैन्य, व्यापारिक र क्षेत्रीय प्रतिस्पर्धा अहिले आएर अमेरिकाका लागि आफैंमा चुनौतीको विषय बनेको छ। बदलिँदो विश्व व्यवस्थामा अमेरिकाको मुख्य प्रतिस्पर्धी नै चीन देखिन्छ। पहिले महाशक्तिको प्रतिस्पर्धा सेना, परमाणु हतियार र अर्थतन्त्रमा बढी केन्द्रित हुन्थ्यो। अहिले त्यसमा सेमीकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रेयर अर्थ, डेटा सेन्टर, सप्लाई चेन र अत्याधुनिक प्रविधि थपिएका छन्।
एआई अहिले अमेरिका र चीनबीचको नयाँ रणनीतिक प्रतिस्पर्धाको केन्द्रमा पुगेको छ। दुवै देश विश्वको सबैभन्दा शक्तिशाली एआई क्षमता आफ्नो हातमा राख्न चाहन्छन्। एआई सुरक्षा र जोखिम व्यवस्थापनका विषयमा संवादको सम्भावना भए पनि यस भेटबाट कुनै ठूलो एआई सम्झौता भएको छैन। सीको यसपटकको अमेरिका भ्रमणमा दुई देशबीच व्यापार वा अन्य क्षेत्रमा केही तनाव व्यवस्थापनको प्रयासका लागि संवाद भए पनि प्रविधिको मूल प्रतिस्पर्धा कायमै छ। अझ भनौं, क्षेत्रीय तनाव अन्त्य गर्ने विषयमा समेत ठोस सम्झौता भएन।
अमेरिका र चीन सम्बन्धमा ताइवान अर्को संवेदनशील मुद्दा हो। चीन ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्छ र ताइवानलाई चीनमै गाभ्न चाहन्छ। अर्कोतिर अमेरिका भने ताइवानसँग अनौपचारिक सम्बन्ध र सुरक्षा सहयोग कायम राख्दै आएको छ।
तर ताइवानको भविष्यबारे अमेरिका स्पष्ट भने हुन सकेको छैन। सीले ट्रम्पसँग स्वतन्त्र ताइवानको विरोध गर्ने अमेरिकी नीति कायम राख्न आग्रह गरेका छन्। तर अमेरिकाले आफ्नो नीति परिवर्तन गरेको छैन। यही कारण भविष्यमा अमेरिका–चीन टकरावको सबैभन्दा संवेदनशील बिन्दुमध्ये एक हुने देखिन्छ।
मध्यपूर्वको शक्ति संघर्ष पनि उस्तै छ। अमेरिका र इरानबीचको सैन्य तनाव, इजरायलसँग जोडिएका क्षेत्रीय संघर्ष, गाजा, लेबनान, यमन र स्ट्रेट अफ होर्मुजको सुरक्षा एकअर्कासँग जोडिएका छन्। ट्रम्पले चीनले इरानलाई सहयोग गर्नु अमेरिकाका लागि स्वीकार्य नहुने सन्देश दिएका छन्। सीले भने यी मुद्दाहरूमा वार्ता र कूटनीतिक समाधानमा जोड दिए।
अमेरिका-इरान-इजरायल युद्धमा चीनको भूमिका महत्वपूर्ण हुन्छ। चीन इरानको महत्वपूर्ण व्यापारिक तथा ऊर्जा साझेदार हो। उसले ठूलो परिमाणमा इरानबाट तेल आयात गर्छ। यही कारण पनि मध्यपूर्वमा युद्ध लम्बिँदा त्यसको असर चीनको ऊर्जा आपूर्तिमा पनि पर्छ। यस अर्थमा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनाव अमेरिका-चीन शक्ति सन्तुलनसँग पनि जोडिन पुग्छ।
रूस-युक्रेन युद्ध टुंगिने कुनै लक्षण देखिँदैन। अमेरिका युद्ध अन्त्य गर्न कूटनीतिक बाटो खोजिरहेको छ। युक्रेनले रूसमाथि चीनको प्रभाव प्रयोग गर्न अमेरिकाले प्रयास गरोस् भन्ने अपेक्षा राखेको देखिन्छ। चीन भने रूससँग रणनीतिक सम्बन्धमा रहे पनि आफूलाई युद्धको प्रत्यक्ष पक्षकारका रूपमा प्रस्तुत गर्दैन।
अमेरिका अझै विश्वको ठूलो सैन्य, वित्तीय र गठबन्धन शक्ति हो। चीन आर्थिक, औद्योगिक, व्यापारिक र प्रविधिको क्षेत्रमा विशाल शक्ति बनेको छ। रूसले सैन्य शक्ति र ऊर्जा राजनीतिमार्फत आफ्नो प्रभाव कायम राखेको छ। भारतजस्ता देशहरू आफ्नो रणनीतिक स्वायत्तता विस्तार गरिरहेका छन्। ब्रिक्सलगायतका संरचनाहरूले पश्चिमी नेतृत्वबाहिरका देशहरूलाई पनि थप राजनीतिक स्थान दिइरहेका छन्।
विश्व एकध्रुवीय शक्ति सन्तुलनको संरचनाबाट बहुध्रुवीय संरचनातर्फ सर्दैछ। तर नयाँ विश्व व्यवस्था अझै बनिसकेको छैन। पुरानो व्यवस्था पूर्ण रूपमा भत्किएको छैन, नयाँ व्यवस्था पूर्ण रूपमा स्थापित भएको छैन।
तर विश्लेषकहरूले दाबी गरिरहेका छन्-नयाँ विश्व व्यवस्था बन्ने चरणमा छ। भर्खरै सम्पन्न भएको ब्रिक्स सम्मेलन, ट्रम्पको चीन भ्रमण, सीको अमेरिका भ्रमण यही अभिव्यक्तिका दृष्टान्तका रूपमा प्रस्तुत पनि हुँदै आएका छन्। दोस्रो विश्वयुद्धपछि विश्व एकपक्षीय शक्तिको नियन्त्रणमा थियो। अमेरिकाको प्रभुत्व संसारभरि थियो।
चीन-अमेरिका प्रतिस्पर्धाको प्रभाव वासिङ्टन र बेइजिङमा मात्र सीमित छैन। त्यसको प्रभाव ताइवान हुँदै युक्रेन युद्धसम्म पर्दछ। यही प्रतिस्पर्धाले मध्यपूर्वको शक्ति सन्तुलन बदलिन सक्छ, विश्व व्यापार र प्रविधिको दिशा परिवर्तन हुन सक्छ। अनि त्यसको असर समग्र विश्व व्यवस्थामा पर्दछ।
