आफ्नै धानखेत बग्दा चिन्ता छैन, वडा कार्यालय ढलेको हेर्दा आँसु आउँछ [फोटो-फिचर]
बागलुङ । आफ्नै धानखेत बाढीले बगर बनायो, तर वडाध्यक्ष तेजबहादुर थापालाई त्यसको खासै चिन्ता छैन। उनलाई दिनमै दस पटकसम्म दरमखोलाको किनार पुग्न बाध्य बनाउने पीडा भने अर्कै छ। आफ्नै पहलमा बनाएको वडा कार्यालयको भवन जगैदेखि ढलेर खोलामा पुगेको छ।
गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन गत असोज ११ गते दरमखोलामा आएको बाढीले ढाल्यो। करिब ८० लाख रुपैयाँ खर्चेर २०७७ सालमा निर्माण गरिएको भवन खोलाको कटानले जमिनसहित भासिएपछि बगेर खोलामा पुगेको हो। अहिले भवनका अवशेष हेर्न र भित्र बाँकी रहेका सामान निकाल्न वडाध्यक्ष थापा जोखिम मोलेरै पुग्ने गरेका छन्।
“मेरो धानखेत बगेर मलाई केही चिन्ता लागेको छैन। म एकपटक पनि त्यो खेतमा पुगेको छैन। तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु। यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,” थापा भावुक हुँदै भन्छन्।
उनका लागि यो भवन इँटा, सिमेन्ट र छानाले बनेको संरचना मात्रै थिएन। स्थानीय तहको पहिलो निर्वाचनपछि वडाध्यक्ष बनेसँगै उनले आफ्नै कार्यालय भवन बनाउने अभियान थालेका थिए। साविकको मल्म गाविस विभाजनपछि बनेको वडाको आफ्नै भवन थिएन। त्यसबेला स्थानीय भैरव माध्यमिक विद्यालयको कोठा भाडामा लिएर कार्यालय चलाउनुपर्थ्यो। त्यसबापत मासिक ६ हजार रुपैयाँ तिर्नुपर्थ्यो।
स्थानीयको सहयोग, केही जग्गा खरिद र केही जग्गा दानबाट जुटाएर तीन रोपनी क्षेत्रफलमा भवन बनाइयो। पार्किङ र बगैँचासहितको संरचना तयार भएपछि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेको थियो।
तर बाढीले भवनसँगै पार्किङ क्षेत्र, बगैँचा र करिब १५ लाख रुपैयाँ खर्चेर जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत क्षति पुर्यायो। जमिन कटान हुन थालेपछि स्थानीयले महत्त्वपूर्ण कागजात र केही सामान बाहिर निकालेका थिए। अझै पनि वडाध्यक्ष थापा कहिले टेबल, कहिले कुर्सी त कहिले कम्प्युटरका बाँकी उपकरण निकाल्ने प्रयासमा छन्।
दुई कार्यकाल वडाध्यक्ष भएर गरेका कामको सम्झना जोडिएको भवन ढलेपछि थापालाई आफ्नो राजनीतिक जीवनको एउटा महत्त्वपूर्ण उपलब्धि गुमेको अनुभूति भएको छ।
‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो। यहाँ मेरा दुई-दुई कार्यकालका एक-एक थोपा पसिना छन्। मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ उनी भन्छन्।
भवनको माथिल्लो संरचनामा ठूलो क्षति नदेखिए पनि जग नै खोलाले कटान गरेपछि त्यसलाई पुनःस्थापना गर्न सकिने हो कि होइन भन्ने अन्योल छ। सम्भव भए भवन उठाएर पुनःस्थापना गर्ने उनको चाहना छ।
कार्यालय भवन ढलेपछि वडावासीलाई सेवा दिन समस्या भएको छ। अहिले गाउँमै घर भाडामा लिएर सेवा प्रवाहलाई निरन्तरता दिइएको छ। भवनमा रहेका सबै कागजात र सामग्री सुरक्षित निकाल्न नसकिएकाले प्रशासनिक काम सहज बनाउन थप प्रयास आवश्यक छ।
दरमखोलाको बाढीले गलकोट नगरपालिकाका अन्य क्षेत्रलाई पनि असर गरेको छ। नगरपालिकाको प्रारम्भिक विवरणअनुसार २२ घरमा क्षति पुगेको छ। घरगोठसँगै व्यवसाय र खेतीयोग्य जमिनमा पनि क्षति भएको छ। हरिचौर र चरौंदी क्षेत्रमा बढी क्षति पुगेको जनाइएको छ।
वडाध्यक्ष थापाका लागि अहिले आफ्नै खेत गुमेको पीडाभन्दा जनताको साझा सम्पत्ति र वर्षौँको मेहनतले बनाएको कार्यालय गुमेको चोट ठूलो छ। दरमखोलाको किनारमा ढलेको भवन हेर्दा उनलाई आफ्नो व्यक्तिगत क्षतिभन्दा वडाको इतिहास बाढीले बगाएको अनुभूति बढी हुन्छ।
तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी















