काठमाडौँ उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ ।
यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको हो ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ सूचालक जडान गरिरहेको छ ।
उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ ।
कम क्षमताको पुरानो सूचालकको सट्टा ‘एचटिएलएस कन्डक्टर’ (बढी क्षमताको विद्युतीयर भार वहन गर्न सक्ने) सूचालक जडान गर्न लागिएको हो ।
डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर सूचालक बदल्न बाँकी रहेको छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् बहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सवस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ ।
निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने जनाइएको छ ।
