३८ वर्षपछि डडेल्धुराको परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका ५ अव्यवस्थित परिवारले ३८ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
जिल्ला भूमि समस्या समाधान समिति डडेल्धुराले साविकको जोगबुढा गाविस वडा नम्बर १ हाल परशुराम नगरपालिका–१२ अन्तर्गत खजुरानी र तुलाभाडी गाउँका ५ परिवारलाई लालपुर्जा वितरण गरेको हो।
२०४५ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका परिवारले लामो समयपछि आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूका लागि लालपुर्जा प्राप्तिसँगै जग्गाको स्वामित्व सुनिश्चित भएको छ।
लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जा नहुँदा समस्यामा रहेका परिवारले अब आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन्। लालपुर्जा वितरणले उनीहरूको बसोबासलाई कानुनी मान्यता दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
