बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडकमा यात्रुको सास्ती कायमै
म्याग्दी । कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन । साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ ।
यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्ड बगाएको थियो । नदी कटान भएका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको हो ।
सडक सञ्चालनमा आएसँगै उपल्लो मुस्ताङ र चीनको कोरला नाकाबाट भन्सार जाँच पास गराएर आएका करिब पाँच सय मालवाहक कन्टेनर तथा ट्रक गन्तव्यमा पुग्ने प्रतिक्षामा सडकमा रोकिएका छन् । बेनीबाट मुस्ताङतर्फ जाने सवारी साधनको चापसमेत बढ्दा सडकमा लामो जाम हुने गरेको छ ।
दसैँ र जाडोयामका लागि चीनबाट आयात गरिएका कपडा, खाद्यान्न तथा फलफूल बोकेका कन्टेनर लामो समयसम्म बाटोमै रोकिँदा व्यवसायी र चालक समस्यामा परेका छन् । विशेषगरी फलफूल बोकेका केही गाडीमा सामान कुहिन थालेको छ । सडक अवरुद्ध हुँदा सामान ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायीले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ ।
क्षतिग्रस्त सडकको मर्मत तथा सुधारको काम जारी रहेकाले काम गर्नुपर्ने समयमा सवारी आवागमन रोकिने गरेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताइन् ।
“सोमबारदेखि सबै किसिमका सवारीसाधन सञ्चालन गराउने कार्ययोजना अनुसार परिक्षणका लागि हलुका सवारीसाधन मात्र गुडाउन थालिएको सडकमा अन्धाधुन्दा रूपमा मालवाहक ट्रक, पर्यटक र यात्रुवाहक यातायातका साधन चल्न थालेपछि मर्मतको काम प्रभावित भयो”, उनले भनिन्, “प्रारम्भिक मर्मत भएको सडकलाई हिलो बनाउदाँ तिल्केनीचौरलगायत केही ठाउँमा गाडी फस्ने समस्या देखिएको छ ।”
कमजोर सडकमा पुनः पहिरो खस्ने र आवागमन अवरुद्ध हुने चिन्ताले चालक तथा यात्रु त्रसित छन् । बेनी-जोमसोम-कोरला सडक योजनाका प्राविधिक विनोद पौडेलले कुनौटा-पोखरेबगर क्षेत्रको करिब १० किलोमिटर सडक सुधारलाई तीव्रता दिइएको जानकारी दिए । उनका अनुसार असोज २६ गतेभित्र मर्मत सकेर सहज रूपमा सञ्चालन गर्न सकिने बनाउने लक्ष्य राखिएको छ ।
लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या हुनुका साथै विद्युत् र फोन तथा इन्टरनेट सेवासमेत प्रभावित भएका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति र जनजीवन सहज बनाउन सडकको पूर्ण सुधार आवश्यक देखिएको छ ।
चीनसँगको व्यापारिक आवागमनका लागि प्रयोग हुँदै आएका अन्य नाकामध्ये रसुवागढी बाढीपहिरोका कारण बन्द रहेको र तातोपानी नाकाबाट अपेक्षाअनुसार आवागमन हुन नसकेको अवस्थामा कोरला नाका महत्त्वपूर्ण विकल्प बनेको छ ।
तर, नाकाबाट सामान आयात भए पनि बेनी-जोमसोम सडक सहज नहुँदा ढुवानी र यात्रामा समस्या कायमै छ । अस्थायी मार्गबाट सवारी सञ्चालन हुन थाले पनि सडकको पूर्ण सुधार नभएसम्म म्याग्दी र मुस्ताङबीचको आवागमन तथा चीनसँगको व्यापार सहज हुने अवस्था देखिएको छैन ।
