प्रश्न!
काठमाडौं। हामी किन प्रश्न गर्छौँ? के हरेक प्रश्नको उत्तर हुन्छ? कुनै प्रश्न नउठेको भए आजको संसार यस्तै हुन्थ्यो? के ब्रह्माण्डको अस्तित्व आफैँमा एउटा प्रश्न हो? प्रश्नले नयाँ संसार निर्माण गर्न सक्छ भने के त्यसैले स्थापित संसारलाई भत्काउन सक्छ?
यी प्रश्नहरू केवल दर्शन र बहसका विषय मात्रै होइनन्, मानव अस्तित्व, ज्ञान, विज्ञान, राजनीति र पत्रकारितासँग जोडिएका आधारभूत जिज्ञासा हुन्। मानिसले आफूलाई र आफ्नो वरिपरिको संसारलाई बुझ्ने प्रयास सुरु गरेदेखि नै प्रश्नहरु उसका यात्राका सहयात्री बनेका छन्।
के प्रश्नको महत्त्व उत्तर प्राप्त गर्नुमा मात्रै सीमित छ? अथवा, प्रश्न आफैँमा पनि कुनै प्रश्न हो?
मानिस जन्मिँदा उसलाई संसारको बारेमा सबै पूर्ण ज्ञान हुँदैन। उसले बिस्तारै देख्न, सुन्न, बुझ्न र सिक्न थाल्छ। बाल्यकालमा उसले आकाश नीलो किन छ, पानी किन बग्छ, मानिस किन जन्मिन्छ र किन मर्छ भनेर सोध्छ। उमेर बढ्दै जाँदा प्रश्नको स्वरूप बदलिन्छ। उसले समाजमा असमानता किन छ, शक्तिशालीले कमजोरमाथि शासन किन गर्छ, मानिस सुखी हुन किन चाहन्छ र जीवनको उद्देश्य के हो भनेर सोच्न थाल्छ।
मानिसको र समयको विकासक्रमसँगै प्रश्नहरू बदलिन्छन्, तर अझै जान्न खोज्ने मानिसको चाहना भने हराउँदैन। यही चाहनाले मानिसलाई अन्य जीवभन्दा फरक ढङ्गले संसार बुझ्ने क्षमता दिएको छ।
प्रश्नको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने यसले स्थापित मान्यतालाई परीक्षण गर्ने अवसर दिन्छ। कुनै विचार लामो समयदेखि स्वीकार गरिएको छ भन्दैमा त्यो सत्य हुन्छ भन्ने छैन। कुनै व्यवस्था पुरानो छ भन्दैमा त्यो न्यायपूर्ण हुन्छ भन्ने पनि छैन। जब मानिसले ‘किन?’ भनेर सोध्न थाल्छ, तब उसले आफूले स्वीकार गर्दै आएको वास्तविकतालाई नयाँ दृष्टिले हेर्न थाल्छ। यहीँबाट ज्ञानको विस्तार, सामाजिक परिवर्तन र नयाँ सम्भावनाको खोजी सुरु हुन सक्छ।
विज्ञानको विकासलाई हेर्दा प्रश्नको भूमिका झन् स्पष्ट हुन्छ। प्रकृतिमा देखिएका घटनालाई मानिसले केवल चमत्कार मानेर स्वीकार गरेको भए वैज्ञानिक अनुसन्धानको यात्रा आजको अवस्थामा पुग्ने थिएन। वस्तु कसरी चल्छ, रोग किन लाग्छ, पृथ्वी कसरी बनेको हो र ब्रह्माण्ड कसरी विस्तार भइरहेको छ भन्ने प्रश्नहरुले अनुसन्धानलाई विभिन्न समयमा विभिन्न दिशा दिएका छन्।
तर वैज्ञानिक दृष्टिकोणकै भाषामा प्रश्न उठाउनु र त्यसको उत्तर प्रमाणित गर्नु फरक कुरा हुन्। जिज्ञासाले अनुसन्धान सुरुगर्न मद्दत
के यो ब्रह्माण्डको अस्तित्व पनि कुनै प्रश्नको परिणाम हो? वैज्ञानिक रूपमा ब्रह्माण्डको सुरुवाती अवस्थाबारे ‘बिग ब्याङ’ सिद्धान्तले व्याख्या गर्छ।
तर ‘ब्रह्माण्ड किन अस्तित्वमा छ’ भन्ने प्रश्न अझै गहिरो दार्शनिक बहसको विषय हो। यसको उत्तरमा प्रश्नले नै ब्रह्माण्ड सिर्जना गर्यो भन्न सकिने प्रमाण छैन। तथापि, ब्रह्माण्डको अस्तित्वले मानिसभित्र प्रश्न गर्ने चेतना जन्माएको छ। हामी यही ब्रह्माण्डका अंश हौँ, तर यही ब्रह्माण्डलाई बुझ्ने प्रयास पनि गरिरहेका छौँ। वास्तविकताको एउटा अंशले सम्पूर्ण वास्तविकताबारे प्रश्न गर्न सक्नु आफैँमा आश्चर्यजनक कुरा हो।
प्रश्नले सिर्जना मात्रै गर्छ कि विनाश पनि गर्न सक्छ? इतिहासले देखाउँछ, प्रश्नले पुराना मान्यता, संस्था र व्यवस्थालाई चुनौती दिएको छ। मानिसले कुनै शासन व्यवस्था न्यायपूर्ण छ कि छैन भनेर सोध्न थाल्दा राजनीतिक परिवर्तनको आधार बनेका थुप्रै उदाहरण छन्। फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्ति, भारत छोडो आन्दोलन, नेपाल कै राणा, राजा, पंचायत विरुद्दका आन्दोलनलाई पनि प्रश्नकै उपज मान्न सकिन्छ।
यहाँ बुझ्नुपर्ने कुरा के भने विनाश भन्नाले सधैँ भौतिक संरचनाको अन्त्य बुहुँदैन। कहिलेकाहीँ प्रश्नले भ्रम नष्ट गर्छ, कहिलेकाहीँ गलत विश्वास भत्काउँछ र कहिलेकाहीँ पुरानो व्यवस्थाको ठाउँमा नयाँ सम्भावना जन्माउँछ। प्रश्न आफैँले कुनै व्यवस्था भत्काउँदैन; त्यसबाट उत्पन्न विचार, प्रमाण, निर्णय र सामूहिक कार्यले परिवर्तन ल्याउँछन्।
यद्यपि, प्रश्न गर्नु मात्रै बुद्धिमानीको प्रमाण होइन। प्रश्नले ज्ञानतर्फ लैजान सक्छ, तर गलत धारणामा आधारित प्रश्नले भ्रम फैलाइरहेको हुन्छ। हरेक कुरामा शंका गर्दै कुनै निष्कर्ष स्वीकार नगर्ने हो भने मानिस निर्णय गर्नै नसक्ने अवस्थामा पुग्दछ।
प्रश्नको मूल्य त्यसको सङ्ख्यामा होइन, त्यसले खोजेको सत्य, अपनाएको विधि र स्वीकार गर्न सक्ने प्रमाणमा निर्भर हुन्छ। कहिलेकाहीँ उत्तर अपूर्ण हुँदाहुँदै पनि उपलब्ध प्रमाणका आधारमा निर्णय गर्नुपर्छ।
प्रश्नको अर्थ उत्तर पाउनु मात्रै नहुन सक्छ। केही प्रश्न यस्ता हुन्छन्, जसको उत्तर जीवनभर नाभेतीं सक्छ। प्रश्न ज्ञान हो। प्रश्न विश्वास हो, पुनर्विचार हो। सबै प्रश्नको अन्तिम उत्तर हुँदैन। तर उत्तर नभएका सबै प्रश्न निरर्थक पनि हुँदैनन्।
