`

‘बिफोर द ल’

फ्रान्ज काफ्का ७ कार्तिक २०८३ १७:४३
फिचर

कानुनको अगाडि एउटा द्वारपाल बसिरहेको हुन्छ। त्यही द्वारपालकहाँ गाउँबाट आएको एक जना मानिस पुग्छ र कानुनभित्र प्रवेश गर्न अनुमति माग्छ। तर द्वारपालले भन्छ, अहिले उसलाई भित्र पस्न अनुमति दिन सकिँदैन।

त्यो मानिस केही बेर सोच्छ र फेरि सोध्छ, के उसले पछि भित्र पस्न पाउँछ त?

‘सम्भव छ,’ द्वारपाल भन्छ, ‘तर अहिले होइन।’

त्यतिबेला कानुनतर्फ जाने ढोका सधैँझैँ खुला नै हुन्छ। द्वारपाल पनि एकातिर हटेर उभिएको हुन्छ। त्यसैले त्यो मानिस ढोकाभित्र के छ भनेर हेर्न शरीर अगाडि झुकाउँछ। उसले त्यसो गरेको देखेर द्वारपाल हाँस्छ र भन्छ, ‘यदि तिमीलाई भित्र पस्ने यति धेरै इच्छा छ भने, मेरो निषेधका बाबजुद प्रयास गरेर हेर। तर एउटा कुरा याद राख- म शक्तिशाली छु। अनि म त यहाँका सबैभन्दा तल्लो तहका द्वारपालमध्ये एक हुँ। भित्रका प्रत्येक कोठामा मभन्दा शक्तिशाली द्वारपालहरू छन्। तीमध्ये तेस्रो द्वारपालको अनुहार एक झलक हेर्नेसमेत साहस म गर्न सक्दिनँ।’

गाउँबाट आएको त्यो मानिसले यति धेरै कठिनाइको कल्पना गरेको हुँदैन। उसको विचारमा कानुन सधैँ सबैका लागि खुला हुनुपर्ने हो। तर जब उसले द्वारपाललाई नजिकबाट नियाल्छ- भुत्लैभुत्ला भएको लामो कोट, ठूलो चुच्चो नाक र लामो, पातलो, कालो तातार दाह्री भएको मानिसलाई देख्छ- तब भित्र पस्ने अनुमति नपाएसम्म पर्खनु नै उचित हुने निष्कर्षमा पुग्छ।

द्वारपालले उसलाई एउटा सानो पिर्का दिन्छ र ढोकाको छेउमा बसेर पर्खन अनुमति दिन्छ।

त्यसपछि ऊ त्यहीँ बसिरहन्छ- दिनहरू बित्छन्, वर्षहरू बित्छन्।

भित्र पस्नका लागि उसले अनेकौँ प्रयास गर्छ र आफ्ना अनुरोधहरू दोहोर्‍याएर द्वारपाललाई हैरान बनाउँछ। द्वारपालले बेलाबेलामा उसलाई छोटो सोधपुछ गर्छ। उसको गाउँठाउँ र अरू विभिन्न विषयमा प्रश्नहरू सोध्छ। तर ती प्रश्नहरूमा कुनै विशेष चासो हुँदैन। शक्तिशाली मानिसहरूले अरूलाई सोध्ने औपचारिक प्रश्नहरूजस्ता मात्र हुन्छन् ती। प्रत्येक सोधपुछको अन्त्यमा द्वारपालले फेरि त्यही कुरा दोहोर्‍याउँछ- अहिले पनि उसलाई भित्र पस्न दिन मिल्दैन।

आफ्नो लामो यात्राका लागि अनेकौँ सामान बोकेर आएको त्यो मानिस द्वारपाललाई खुसी पार्न आफ्नो साथमा भएका सबै कुरा खर्च गर्न थाल्छ। ती वस्तुहरू जति नै मूल्यवान् किन नहुन्, उसले केही बाँकी राख्दैन। द्वारपालले ती सबै वस्तु लिन्छ, तर लिँदै गर्दा भन्छ, ‘म यी कुरा यसकारण लिइरहेको छु, ताकि तिमीले आफूले गर्न सक्ने कुनै प्रयास बाँकी राखेनौ भन्ने नसोच।’

यसरी धेरै वर्ष बित्छन्। त्यो मानिसले लगभग निरन्तर द्वारपाललाई नियालिरहन्छ। बिस्तारै उसले अरू द्वारपालहरूको अस्तित्व नै बिर्सन्छ। कानुनभित्र प्रवेश गर्नका लागि यही एउटा द्वारपाल मात्र बाधक हो भन्ने उसलाई लाग्न थाल्छ।

उसले आफ्नो दुर्भाग्यलाई धिक्कार्छ। सुरुका वर्षहरूमा उसले कुनै सोचविचार नगरी ठूलो स्वरमा गुनासो गर्छ। तर उमेर बढ्दै जाँदा उसका गुनासाहरू आफैँसँग गरिने मधुरो बर्बराहटमा सीमित हुन थाल्छन्।

ऊ बिस्तारै बालकजस्तो बन्दै जान्छ। द्वारपाललाई वर्षौँसम्म नियालिरहँदा उसले द्वारपालको भुत्लायुक्त कोटको कलरमा बस्ने उपियाँसमेत चिन्न थालेको हुन्छ। अन्ततः ती उपियाँसँग समेत उसले द्वारपाललाई मनाउन सहयोग माग्न थाल्छ।

समय बित्दै जाँदा उसको दृष्टि कमजोर हुन थाल्छ। आफू वरिपरिको संसार साँच्चै अँध्यारो हुँदै गएको हो कि आफ्नै आँखाले धोका दिइरहेका हुन् भन्ने कुरा उसले छुट्याउन सक्दैन। तर अँध्यारोभित्र पनि उसले कानुनतर्फ जाने प्रवेशद्वारबाट ननिभ्ने गरी निस्किरहेको एउटा उज्यालो देख्न थाल्छ।

अब ऊ धेरै समय बाँच्ने अवस्थामा हुँदैन।

मर्नुअघि उसले जीवनभरि भोगेका सबै अनुभवलाई मनमा समेटेर एउटा यस्तो प्रश्न तयार गर्छ, जुन उसले अहिलेसम्म द्वारपाललाई सोधेको हुँदैन। आफ्नो शरीर कक्रिएर चलाउनसमेत नसक्ने भएपछि ऊ द्वारपाललाई हातको इसाराले नजिक बोलाउँछ।

द्वारपाल उसको नजिक झुक्न बाध्य हुन्छ, किनकि उमेर र शारीरिक अवस्थाले ल्याएको ठूलो अन्तरले अब त्यस मानिसलाई प्रतिकूल अवस्थामा पुर्‍याइसकेको हुन्छ।

‘अब तिमीलाई के जान्न मन छ?’ द्वारपाल सोध्छ, ‘तिम्रो चाहना कहिल्यै पूरा नहुने रहेछ।’

‘सबै मानिस कानुनसम्म पुग्न चाहन्छन्,’ त्यो मानिस भन्छ, ‘त्यसो भए यति धेरै वर्षसम्म मबाहेक अरू कसैले किन यहाँ प्रवेश गर्न अनुमति मागेन?’

द्वारपालले त्यो मानिस अब मर्न लागेको छ भन्ने बुझ्छ। उसको कमजोर हुँदै गएको श्रवणशक्तिसम्म आफ्नो आवाज पुर्‍याउन ऊ ठूलो स्वरमा चिच्याउँछ-

‘यहाँ तिमीबाहेक अरू कसैले प्रवेश पाउन सक्दैन, किनकि यो प्रवेशद्वार तिम्रा लागि मात्र छुट्याइएको थियो। अब म यसलाई बन्द गर्न जाँदै छु।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *