`

म्याग्दीमा लेकबाट बेँसी झर्न थाले घुम्ती गोठ, जोगिँदै छ पुर्ख्यौली पशुपालन

Nepal One HD ८ कार्तिक २०८३ १८:०७
समाचार

म्याग्दी । शरद् ऋतुको सुरुवातसँगै चिसो बढ्न थालेपछि म्याग्दीका पशुगोठ लेकाली बुकीबाट बेँसी झर्न थालेका छन् । बर्खायाममा हिमालको फेदीसम्म पुगेका गाईभैँसी तथा भेँडाबाख्राका गोठ अहिले गाउँनजिकका खर्कमा झार्न थालिएको हो ।

पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि पशुगोठ गाउँनजिक ल्याएको बताए ।

वैदेशिक रोजगारीबाट फर्किएर ३५ वटा भैँसी पालेका विकका अनुसार अहिले मकै भित्र्याएको बारीमा गोठ राखिएको छ । कोदो भित्र्याएपछि मङ्सिरमा गोठलाई बेँसीको फाँटमा झार्ने चलन छ । पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु तथा भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला आवश्यक बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्ने गर्छन् ।

गाउँमा गोठाला र गाईवस्तुको चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताए । गाउँनजिकका पाखाबारीमा गाईगोरु, बाच्छाबाच्छी, भैँसी तथा भेँडाबाख्रा चरिरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर लेक गएका गोठाला गाउँ फर्किएपछि मात्रै परिवारसँग भेट हुने गर्छ ।

हिमाली बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र बढी दूध दिने हुने धौलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए । खर्कमा ढुङ्गाको पर्खालमाथि काठ र निगाला तेर्साएर त्रिपाल तथा पाल राखी अस्थायी गोठ बनाउने गरिन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा पशुगोठ लैजाने चलन छ ।

धौलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङ तथा रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले घुम्ती गोठमार्फत पशुपालन गर्दै आएका छन् । त्यस्तै, अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसानले पनि परम्परागत शैलीमा घुम्ती गोठ सञ्चालन गरिरहेका छन् ।

बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलनसमेत छ । पशुचौपायाको मलबाट खेतबारीको उर्वराशक्ति बढाउन सहयोग पुग्ने भएकाले किसानले यसलाई परम्परागत कृषि प्रणालीसँग जोड्दै आएका छन् ।

तर, युवा पुस्ताको घट्दो आकर्षण र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा आधारित पशुपालन सङ्कटमा पर्दै गएको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताए । परम्परागत सीप, स्थानीय चरन क्षेत्र र पशुपालनमा आधारित जीवनशैली जोगाउन चुनौती बढ्दै गएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *