उपल्लो डोल्पाका काम गर्ने कर्मचारी दुनैमा बसेर तलव ,भत्ता खाने गरेको गुनासो


सुर्खेत , ३० पुस-उपल्लो डोल्पाका काम गर्ने कर्मचारीहरु दुनैमा बसेर उपल्लो डोल्पाको तलव ,भत्ता खाने गरेको गुनासो जनप्रतिनिधि नै गर्दछन् । अधिकांश काम दुनैबाट गरेर उपल्लो डोल्पा हप्ता दिन जाँदा वर्ष भरी सामाजिक सञ्जालमा राखेर उपल्लो डोल्पामा काम गरेको फुर्ती लगाउने गरेको जनप्रतिनिधिको गुनासो छ ।
जनतासँग दैनिक हामीले भए भरका कामहरु गर्नुपर्छ , कर्मचारी खोज्दा कोही पनि भेटिदैन यहाँका सबै सर्वसाधारणको गुनासो हो यो । फोन गर्दा समेत फोन रिसिभ नगर्दा कर्मचारीहरुले अर्को दुख दुख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , ‘ प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल काठमाडौँ हुनुहुन्छ रे , फोन गर्दा पनि उठाउनुहुन्न । पालिकामा एक जना कर्मचारी छैन , हाम्रो काम गरिदिने कसले हो । अन्य ठाउँमा संघीयता आएपछि हाम्रो पालिकामा संघीयता आएको छैन । ’
पालिका भन्दा बाहिर बसेर सधै तलव, भत्ता खाने आरोप गुरुङले लगाइरहदा हामीले पनि अधिकृत सेजुवाललाई तीन दिन झण्डै ५ पटक फोन गर्दा समेत रिसिभ भएन । काठमाडौँमा रहेका सेजुवाल पालिकाको काममा गएको भन्दै लामो समय देखि काठमाडौँमा बसेका छन् । गाउँपालिकाका अन्य कर्मचारीहरु समेत आ आफ्नो व्यक्तिगत काममा बसेका कारण छार्काताङसुङमा गाउँपालिकामा कर्मचारी कोही पनि नभेटिएका हुन् ।
दुर्गम भएको बहाना देखाउदै देशका ठुला सहरमा बसेर डोल्पाको कर्मचारी भनि नाम भजाउदा आफूहरु पीडित भएको छार्काताङसुङ –४ का पासवान रोकायले बताउनुभयो । कहिलेकाँही मात्र पालिकामा पहिला टेक्ने कर्मचारीले अधिकांश समय दुनैबाट नै काम गरिरहेको उहाँको आरोप छ । अहिले छार्काताङसुङ गाउँँपालिका भित्रका जनताहरु गाउँमै भएपनि कर्मचारी चिसोको बहानामा दुनैबाट व्यक्तिगत काममा लागेको जनप्रतिनिधिहरु नै बताउँछन् ।
पालिकामा कोही पनि कर्मचारी किन नबसेको भन्दै हामीले त्यहाँका सूचना प्राविधि अधिकृत किरण केसीलाई सम्पर्क गर्न खोज्दा उहाँको समेत फोन उठन सकेन । गाउँपालिकाका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङले आफू काठमाडौँ भएको बताउनुभयो । छार्काताङसुङ गाउँपालिका अध्यक्ष सेनांङ गुरुङले टेलिफोनमा भन्नुभयो ,‘ तपाइको मात्र होइन, मेरो पनि फोन उठादैनन । म आफैँ पनि पीडित हुँ । पालिकाको अधिकृत भए जतीबेला पनि फोन उठाउनुपर्ने तर कर्मचारीले फोन नै नउठाउदा कसरी काम गर्ने ? ’ आफू काम परेको समयमा जतीबेला पनि जुनसुकै ठाउँमा पुग्ने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । बजेट माग गर्नका लागि काठमाडौँमा छु उहाँले भन्नुभयो , ‘ भेरी करिडोरले आफ्नो पालिका नभेटने भएकाले बेसरी काममा लाग्नु परेको छ , सबै मन्त्रीज्यूलाई भेटेको पालिकाको विकासलाई गति दिने योजना छ । ’
कर्मचारी टिकाउनका लागि चुपचाप लागेर पनि काम गर्नुपरेको जनप्रतिनिधिको गुनासो छ । गाउँपालिकामा हुने अधिकांश कामहरु कर्मचारी नहुँदा समस्य हुँदै आएको सेवाग्राहीले बताएका छन् । राज्यले खटाएको ठाउँमा इमान्दार पुर्वक काम गर्नुको ठाउँमा अनेक बहाना बनाएर खटाएको ठाउँमा नजाँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्रहीहरुलाई पर्ने गरेको छ ।