सभामुखको सरकारी निवास अझै टुङ्गो लागेन
काठमाडौं । सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ।भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो ।
माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सरेका छैनन् ।सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ।
संसद् सचिवालयले पदाधिकारी निर्वाचन अगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन । “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन ।
सभामुख पनि गृह जिल्ला गएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो ।सचिवालयका अनुसार घिमिरेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रयोग गर्नुभएको लैनचौरको निवासमा जान अनिच्छा गरेका छन् ।
बालुवाटारमा रहेको सभामुख निवास भने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गरिरहेका छन् ।अध्यक्षको भवनमा भने यसअघि मन्त्रिपरिषद् कार्यालय पुनर्निर्माणका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बनाइएको थियो। उक्त समय प्रतिनिधि सभा सभामुखविहीन रहेकाले अध्यक्ष तिमिल्सिनाले भवन प्रयोग गरेका थिए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
