रबिलाई पुरानै जिम्मेवारीमा फर्काउने ओली र लिङदेनको दबाब पश्चात पार्टीका नेताहरुसँग छलफलमा प्रचण्ड


काठमाडौं । राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा सत्तागठबन्धनमा खटपट भइरहेको छ । । प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ । रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रालयमा कसलाई जिम्मेवारी दिने भन्नेबारे गठबन्धनमा मतऐक्यता छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफल गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनसँग भेटपछि प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरूसँग छलफल गरेका हुन् ।
एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउन प्रचण्डलाई दबाब दिइसकेका छन् । गठबन्धनमा विवाद बढ्दै गएपछि प्रचण्डले आज बोलाइएको स्थायी कमिटीको बैठकसमेत स्थगित गरेर छलफलमा जुटेका हुन् ।