`

‘रविलाई गृहमन्त्री बनाउन किन चाहियो पूर्णपाठ ?’ : केपी ओली

Nepal One HD १९ माघ २०७९ १३:१४
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताउदै यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘किन चाहियो पूर्णपाठ रु कण्ठ गर्ने हो र पूर्णपाठ?  किन चाहियो पूर्णपाठ ? कुन कुन पार्टीले के- के लिन सहमति पहिल्यै भएको हो । त्यही अनुसार जानुपर्छ । रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ । छलफल भइरहेको छ । खटपट भएको छैन । हामीले गृह मन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो । उनीहरूलाई गृह मन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन ।’

लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् ।  गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो । यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए । ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् ।


प्रतिक्रिया