कांग्रेसप्रति अध्यक्ष ओलीको टिप्पणी : ‘पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरे ।
नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको दावि समेत गरेका छन् । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग भएके आरोप लगाएका छन् ।काँग्रेसले आफूलाई लोकतन्त्र भनेर दाबी गरेको आरोप समेत ओलीले लगाए ।
कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए । कांग्रेसको पछिल्लो व्यवहार लोकतन्त्रको मर्म र भावनाविपरीत भएको उनको भनाइ थियो । प्रतिपक्षमा पुगेको कांग्रेसले सरकारलाई विश्वासको मत दिएर धमिलो पानीमा माछा मार्ने नियत रहेको स्पष्ट देखिने उनको दाबी थियो ।