मनोनयनपछि अर्यालले भनिन् : ‘निष्पक्ष,तटस्थ र मर्यादित भएर काम गर्ने छु’


काठमाडौं । माओवादी केन्द्रकी राष्ट्रियसभा उपाध्यक्षका उम्मेदवार उर्मिला अर्यालले निष्पक्ष,तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होसे हल पुगेर सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी अर्यालले मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
उनले भनिन् , राष्ट्रियसभाको उपाध्यक्षमा तटस्थ र मर्यादित भएर काम गर्छु । त्यसका लागि सबै सांसदहरूको सहयोगको अपेक्षा गरेकी छु । उनले पदअनुसारको आचारण गर्नु आफ्नो कर्तव्य रहने बताइन् ।
अर्यालले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् । संघीय सचिवालयले बेलुका ४ बजेसम्म राष्ट्रियसभा उपाध्यक्षको मनोनयनको समय तोकेको छ । ४:१५ बजेपछि उम्मेदवारको नाम सार्वजनिक गरिने सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएको छैन। यसैले अर्याल निर्विरोध निर्वाचित हुने पक्काजस्तै भएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको पदावधि सकिएको १ वर्षपछि रिक्त रहेको पदमा भोलि निर्वाचन हुन लागेको छ ।