उद्योग मन्त्री लिएर मधेश सरकारमा माओवादी सहभागी हुने


जनकपुरधाम । मधेश प्रदेशमा माओवादी केन्द्र उद्योग वन तथा पर्यटन मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री लिएर सरकारमा जाने भएको हो ।
माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो । उनी सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रचण्डकै निर्देशनमा यादव मन्त्री बन्न लागेकी हुन् ।माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने करिबकरिब सहमति थियो ।
जसमा एउटामा भरत प्रसाद साह र अर्कोमा सुनिताको नाम चर्चामा थियो । तर, एक मन्त्रालय मात्र जसपा नेतृत्वको सरकारले दिन खोजेपछि सो मा सुनिता मन्त्री बन्ने तय भएको हो । सुनिता समानुपातिक प्रणालीबाट संसद बनेकी हुन् । १० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको लागि एक मात्र उद्योग वन तथा पर्यटन मन्त्रालय आफूसँग राखेका छन् ।