प्रधानमन्त्री प्रचण्डलाई थप २ मन्त्रालयको जिम्मा


काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मा थप २ मन्त्रालय तोकिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले सरकार छोडेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई तोकेकी छन् ।
यस अघि रास्वपाका सभापति रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले नै सम्हाल्दै आएका थिए । आज सोमबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति जारी गर्दै उक्त मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको जनाएको छ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्का माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री शिशिर खनाल र माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री डोलप्रसाद अर्यालले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले राजीनामा दिएका थिए।