सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जग्गा अधिग्रहण गर्ने


काठमाडौँ – सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकका बारेमा जानकारी गराउन मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाँउपालीका १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले रक्षा मन्त्री हरि प्रसाद उप्रेतीको फाल्गुन १ देखि ५ गते सम्म हुने भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ भने बागमती बाँध आयोजनाको कार्यान्वयन अघि बढाउन काठमाडौँको गोकर्णेश्वर १ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरू हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुट दिने निर्णय गरेको छ । सम्पत्ति सुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न वनेको विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिने , मन्त्रीपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालय र कानुन मन्त्रालयका सचिव उदयराज सापकोटालाई मन्त्रिपरिषद्को कार्यालय सचिव पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको प्रवक्ता शर्माले बताउनुभयो ।
प्रवक्ता शर्माले सबै मन्त्रालयको योजनाहरू प्रधानमन्त्री कार्यालयको एकीकृत कार्ययोजनाको बैठकमा पेश भएको जानकारी दिनुभयो । मन्त्रालयगत कार्यक्रमहरूलाई गम्भीरताका साथ अघि बढाएर कार्ययोजनाका साथ पुरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबिचको समन्वयनमार्फत मुलुकलाई अघि बढाउने योजनालाई अघि बढाउन निर्देशन दिनुभएको प्रवक्ता शर्माले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले रास्वपाले सरकार छाडे पनि समर्थन नछाडेकाले सरकार सङ्कटमा रहेको भन्न नमिल्ने बताउनुभयो । रास्वपाका विषयमा गठबन्धन र सरकार सञ्चालन संयन्त्र छलफल हुने उहाँको भनाइ छ ।