`

सुदूरपश्चिम प्रदेशसभाको बैठक ५ बजेसम्मका लागि सर्‍यो, भोट हाल्नु पर्ने नाउपाका सात सांसद काठमाडौंमै

Nepal One HD २६ माघ २०७९ १३:०१
प्रमुख खबर

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ५ बजेसम्मका लागि सरेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन आजसम्म नाउपाले मत दिने वा नदिने निर्णय गर्न सकेको छैन ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुनेछन् । तर विश्वासको मत दिने नाउपाका ७ सांसद नै केन्द्रीय राजधानी काठमाडौंमा छन् ।

डिल्लीबजार कारागारमा उनीहरूसहित अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका सरंक्षक रेशम चौधरीबीच छलफल भएपनि निर्णय गर्न सकेका छैनन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बसेपछि मात्रै निर्णय गर्ने बताएका छन् ।

पार्टीका संघीय सांसद लालवीर चौधरीले दुई नेतासँगको बैठकपछि मात्रै विश्वासको मत दिने/नदिने निर्णय हुने बताए । उनले प्रदेशका सातै जना सांसद काठमाडौंमा रहेको पनि जानकारी दिए ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए प्रदेश सभाको ठूलो दल कांग्रेसले सरकार बनाउने बाटो खुल्ने छ । कांग्रेसका १९ सांसद छन् । यस्तै माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् ।


प्रतिक्रिया