‘जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो’: प्रधानमन्त्री दाहाल

प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठीक ढङ्गले स्थापित गर्ने जिम्मेवारी भने तपाईं हाम्रै छ । हामीले नै यसलाई आम जनताका बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतर्फ लैजानुपर्ने आवश्यकता छ । यो निर्णय सम्पूर्ण सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिप्रतिको सम्मान हो । यो परिवर्तनलाई अब सामाजिक, आर्थिक रुपान्तरणतर्फ अगाडि बढाउने सङ्कल्प पनि हो ।’
ऐतिहासिक दिन भएकाले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपथ्र्यो भन्दै उनले ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन् । यो दिवसलाई स्मरण गर्दै अहिले आफूहरु सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढेको उनको भनाइ छ ।
अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको जनाउँदै उनले आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताएका छन् । माओवादी आन्दोलनका विभिन्न पक्ष धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल समेत गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट