देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सबै कुरामा राष्ट्रिय सहमति आवश्यक – जनार्दन शर्मा


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सबै कुरामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । सोमबार जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासकै सबैभन्दा बढी विश्वासको मत पाएको भन्दै उनले यही मत नै राष्ट्रिय सहमतिको बलियो आधार रहेको बताए । सङ्ख्या के हो भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतमा देखिएको उनले बताए ।
“उहाँले इतिहासकै सबैभन्दा बढी विश्वासको मत पाउनुभयो”, उनले भने, “अब संसद्मा सङ्ख्या गनेर काम छैन । राष्ट्रिय सहमतिको खाँचो छ भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतले प्रष्ट पारेको छ ।” “हिजो र आज गरेका गठबन्धनभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्नुपर्ने बेला आएको उनले बताए ।