मलमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै माइतीघरमा किसानहरूले गरे विरोध प्रदर्शन


काठमाडौँ – सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दल निकट किसान सङ्गठनहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
एमाले निकट अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन लगायतका सङ्घहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले नेपाली किसानको बजा सुनिश्चित गर, किसान मार्न पाइँदैन प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार, राजीनामा देऊ कम्र्फटेबर सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान विरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् । किसानहरूलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरूको छ ।
सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलव ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै किसानहरूले प्रदर्शन गर्दै आएका छन् ।