एमाले सचेतकको नियमापत्तिपछि कांग्रेस उपसभापतिले मागे क्षमा


काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्को सांसद बोलिरहेका बेला अगाडिबाट हिडेकाेमा कांग्रेस उपसभापतिले मागे क्षमा मागेका छन् ।
सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेका बेला सत्तारुढ कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का अगाडिबाट हिडेका थिए ।
प्रतिनिधिसभा नियमावलीमा कुनै सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्न नहुने प्रावधान छ । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न नहुने नियमावलीको नियम खड्काबाट उल्लंघन भएको थियो ।
सांसद अधिकारीले बोलिसकेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभयाे । उहाँले भविष्यमा अरु सांसदहरूलाई पनि काम लाग्ने तर्क गर्दै पटक-पटक हाउसमा एउटा मर्यादाविपरीत काम भइरहेको बताउनुभयाे । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २० (६) बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक-पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै यसप्रकारको काम सत्तापक्षको माननीयहरूबाट यस प्रकारको काम भइरहेको छ ।
नियमावलीको उक्त व्यवस्था कडाइका साथ पालना गराउन सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराउनुभयाे । सभामुख देवराज घिमिरेले नियमापत्तिको विषयमा ध्यान दिन सांसदहरूलाई आग्रह गर्नुभयाे ।
एमाले सचेतक बर्तौलाको नियमापत्तिका आधारमा सभामुख घिमिरेबाट ध्यानाकर्षण भएपछि कांग्रेसका उपसभापति खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागेका हुन्। उहाँले भन्नुभयाे – अनदेखाको कारणले माननीयले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु ।